२०८१ बैशाख ७, शुक्रबार    

हेटौंडा गोल्डकपबाट २१ लाख बचत

२०७९ पौष १९, मंगलबार ०८:३१ बजे

चौथो संस्करणको स्थानीय तह सहिद स्मृति राष्ट्रिय हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको हिसाबकिताब सार्वजनिक गरिएको छ । आयोजक मकवानपुर जिल्ला फुटबल संघले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरी जेठ १९ देखि ३० सम्म हेटौंडामा सम्पन्न प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो ।

प्रतियोगितामा करिब १ करोड ३१ लाख ५६ हजार आम्दानी भएकोमा १ करोड ९ लाख ६७ हजार रुपैयाँ खर्च भएको थियो । अध्यक्ष टीका लामाका अनुसार २१ लाख ३६ हजार रुपैयाँ बचत छ भने अझै २ लाख ५१ हजार रुपैयाँ उठ्न बाँकी छ ।

गोल्डकपबाट बचत रकममध्ये ५ लाख रुपैयाँ प्रतियोगिता सञ्चालन भएको स्थान पिप्लेक्याम्पा रंगशालालाई हस्तान्तरण गरिनेछ । प्रतियोगिताका लागि प्रदेश खेलकुद विकास परिषद्ले ४२ लाख, हेटौंडा उपमहानगरले २४ लाख, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट ७ लाख र टिकटबाट २२ लाख रुपैयाँ संकलन भएको थियो ।

प्रतियोगिताको पुरस्कारमा २८ लाख, खेलाडी तथा रेफ्री भत्तावापत् ३८ लाख, प्रचारप्रसार तथा चौर व्यवस्थापनमा १० लाख रुपैयाँ खर्च भएको आर्थिक संयोजक सुनील लोप्चनले जानकारी दिए । विजेता त्रिभुवन आर्मी क्लबले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ जितेका थिए ।

‘पुरस्कार राशि र खेलाडीको भत्ता बढाएका कारण खर्च अलि धेरै देखिएको हो । प्रतियोगितामा १२ टोलीको सहभागिता थियो । वर्षाका कारण खेल पनि प्रभावित भयो,’ हिसाबकिताब सार्वजनिक गर्दै महासचिव छवि सुवेदीले भने । उनले आगामी प्रतियोगितालाई थप व्यवस्थित गरिने बताए ।

यसपालि फागुन पहिलो साता गर्ने गरी तयारी आयोजकले अगाडि बढाएको छ । राष्ट्रियस्तरको ‘ए’ डिभिजन लिगअगाडि प्रतियोगिता गर्ने गरी अखिल नेपाल फुटबल संघ (एन्फा) समन्वय भइरहेको संघ अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार फागुन ४ देखि खेल सुरु गर्ने गरी मिति तय गर्न एन्फालाई आग्रह गरी पत्राचार गरिएको छ ।

‘राष्ट्रिय लिगका कारण छिट्टै प्रतियोगिता गर्न हामीलाई दबाब छ । हामीले आन्तरिक तयारी गरिसकेका छौं । मैदानको स्तरोन्नतिको काम अगाडि बढिसक्यो । अब क्लबको सहभागिता सुनिश्चिता मात्र बाँकी छ,’ लामाले भने । प्रतियोगितामा आयोजकसहित १० टोलीको सहभागिता रहनेछ ।

आर्मी, पुलिस, एपीएफ, थ्रीस्टार, मनाङ मर्स्याङ्दी, चर्च ब्वाइज, मछिन्द्र, संकटा तथा मोफसलको एउटा टोली सहभागी हुने जनाइएको छ । ‘ए’ डिभिजन क्लब लिगको तयारीमा रहेका कारण यसवर्षको प्रतियोगिता झनै प्रतिस्पर्धात्मक हुने सम्भावना छ,’ लामाले भने ।