२०८१ बैशाख १५, शनिबार    

मन्त्रालयको संख्या घटाउने प्रदेश सरकारको तयारी

२०७९ जेठ १४, शनिबार १६:१९ बजे

वाग्मती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने तयारी अगाडि बढाएको छ ।

मन्त्रालय विभाजन गरेपछि सर्वत्र आलोचना खेपेको प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने गरी अनुसन्धान अगाडि बढाएको हो । मुख्यमन्त्री राजेन्द्र पाण्डेले सत्तारोहणको समयमा गठबन्धनलाई खुशी बनाउन ८ वटा मन्त्रालयलाई विभाजन गरी १४ वटा पुर्‍याएका थिए । मन्त्रालयको संख्या औचित्य पुष्टी नै नभइ बढाएकोभन्दै सर्वत्र आलोचना भएको थियो ।

मन्त्रालयको संख्या बढेसँगै व्यवस्थापनको अभावमा एउटै भवनमा आधा दर्जनसम्म मन्त्रालय राख्नुपर्ने अवस्था सिर्जना भएको थियो । अहिले पनि भाडाको घरमा मन्त्रालय राखिएको छ । ‘हामीले बजेटको परिचालन बढाउन र योजना कार्यान्वयन गर्न मन्त्रालयको संख्या बढाएका हौं । अहिले चालु खर्चमा वृद्धि भएपनि विकासे खर्च बढेको छैन । मन्त्रालय विभाजन गर्नु ठिक थियो वा थिएन । यस विषयमा हामी अध्ययन गर्नेछौं । आवश्यकताका आधारमा हामी मन्त्रालय र मन्त्रीको संख्या घटाउने छौं ।’, आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले भने ।

उनका अनुसार विभाजित केही मन्त्रालयले उत्कृष्ट काम गरेपनि केहीको औचित्य अझै पुष्टि हुन सकेको छैन । जसको कारण पनि सरकारलाई मन्त्रालयको संख्या घटाउन नैतिक दबाब सिर्जना भइरहेको छ ।