२०८१ बैशाख १३, बिहीबार    

ढुंगानाको अध्यक्षतामा प्रदेशसभा सञ्चालन हुने

२०७९ पौष ४, सोमबार १५:२६ बजे

नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुङ्गानाको अध्यक्षतामा वाग्मती प्रदेशसभाको नयाँ अधिवेशन सञ्चालन हुने भएको छ ।

संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा सभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्ने व्यवस्था रहेको छ । सोही अनुसार नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेशसभामा निर्वाचित ढुङ्गानाले प्रदेशसभाको आगामी अधिवेशनको वैठक सञ्चालन गर्नेछन् । निर्वाचन आयोगले प्रदेशसभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको तथ्यांक अनुसार उनी ७२ वर्षीया हुन् । उनका जन्म २००६ साल असोज २ गते भएको थियो ।

प्रदेशसभाका ११० सांसदमध्ये ज्येष्ठ सदस्यका आधारमा उनलाई प्रदेश प्रमुखले सपथ गराउनेछन् । उनले बाँकी सांसदलाई सपथ ग्रहण गराएर आगामी अधिवेशनको सुरुवात गर्नेछन् । सपथ ग्रहणको मिति अझै टुंगो लागेको छैन । 

ढुङगाना १२ हजार एक सय १० मत ल्याएर विजयी भएका थिए । उनले नेकपा (एमाले)का उम्मेदवार केशवराज पाण्डेलाई चारसय ४८ मतान्तरणमा पराजित गरेका थिए ।