२०८१ बैशाख २३, आईतबार    

आफ्नो बिहेबारे बुद्धिको तर्क: ‘बाल विवाहमा परिन्छ कि’

२०७८ फाल्गुन २५, बुधबार ११:२३ बजे

‘हैट’ उपनामले चर्चित हाँस्य कलाकार बृद्धि तामाङ्गको बिहको चर्चा थप पेचिलो बन्दै गएको छ । आजभोली हरेक अन्तर्वार्तामा उनले विवाहको प्रश्नको सामना गर्नु परेको छ ।

मंगलबार फिल्म ‘मन्त्र’को एक कार्यक्रममा पनि उनी विवाहको प्रश्नबाट भाग्न सकेनन् र सधैंझैं हाँसीमजाक गरेरै प्रश्न टारिदिए । यसपटक उनले पल शाह प्रकरणप्रति इशारा गर्दै तर्कका साथ ‘अहिले नै विवाह गरे बाल विवाहमा परिन्छ कि’ भन्दै ठट्यौली गरे । कदका कारण आफू १७ वर्षको जस्तो देखिने उनको भनाइ छ । तर, उनी उमेरले ३५ वर्ष नाघिसकेका छन् । तामाङ्गले संघर्षको ठूलो चट्टान फुटाएर कलाकारितामा गर्बिलो नाम बनाएका छन् ।

‘हैट’ उपनामले बढी चिनिने उनी विरामी आमाको उपचार गर्नका लागि पैसा जुटाउन काभ्रेबाट २०५६ सालमा काठमाडौं छिरेका थिए । काठमाडौं आएपछि उनले लामो समय इट्टा भट्टामा काम गरे । यसपछि नांग्लोमा बदाम बचे । रेस्टुरेन्टमा भाँडा माझे । विजुलीको वाइरिङ्ग गर्ने काम पनि सिके । ‘जीवनमा कहिल्यै कलाकार बन्छु’ भनेर नसोचेका उनलाई समयको हुरीले डबली थिएटरसम्म पुर्‍यायो । यसपछि उनले पेशा परिवर्तन गर्नुपरेको छैन ।

डबलीपछि मण्डला थिएटरमा आबद्ध भएकाले उनले दुई दर्जन बढी नाटकहरुमा अभिनय गरिसकेका छन् । नाटकमा काम गर्दागर्दै उनले फिल्म ‘कबड्डी’मा काम गरेका थिए । यसपछि त उनले करिअर फर्केर हेर्नु परेको छैन । केही वर्षयता उनी हाँस्य चरित्रमा सबैभन्दा बिकाउ कलाकारमा पर्छन् । कमेडी फिल्म त उनीबिना अधुरो र अपूरो नै हुने गरेका छन् । फिल्ममा उनी भएपछि हलमा दर्शकलाई बाँधेर राख्न अरु चाहिँदैनन् । हरेक चरित्रमा जीवन्त बाँच्न सक्ने बुद्धिले अहिले एउटा फिल्मका लागि ५ देखि ७ लाखसम्म पारिश्रमिक बुझ्ने गरेका छन् ।