२०८१ बैशाख १७, सोमबार    

दशैंमा हेटौंडाका बानियाासँग विवाह गर्दै पूजा

२०८० असार १९, मंगलबार ११:०२ बजे

अभिनेत्री पूजा शर्मा यस वर्ष विवाह बन्धनमा बाँधिने भएकी छन् । आगामी विजयादशमीमा उनले प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कस्ने योजना बनाएकी छन् । उनी स्वयंले दशैंमा विवाह गर्न लागेको जानकारी दिइन् । उनका अनुसार, दशैंकै दिन विवाहको तयारी भैरहेको छ । यसपटक आगामी कात्तिक ७ गते दशैं परेको छ । यही मितिमा प्रेमी युद्धसँग उनले विवाह गर्न लागेकी हुन् ।

उनले भनिन्, ‘दशैंमा विवाहको तयारी भैरहेको छ । यसपालि दशैंको टीकामा राम्रो भएकाले विवाह गर्न लागेका हौं ।’ विवाहअघि उनले प्रेमी बानियाँसँग मिलेर काठमाडौंको झम्सिखेलमा होटल सञ्चालन गर्दैछिन् । होटलको कन्स्ट्रक्सनको काम अन्तिम चरणमा पुगेको छ । अहिले पूजा फिल्म ‘दान्भी’को छायांकनमा व्यस्त छिन् । उनको पाइपलाइनमा अभिनेत्री रेखा थापाको फिल्म पनि छ ।

पूजा र युद्ध करिब ३ वर्षदेखि प्रेम सम्बन्धमा छन् । आफ्नो फिल्म ‘म यस्तो गाीत गाउँछु २’ रिलिजको समयमा पूजाले युद्धसँगको प्रेम सम्बन्ध खुलेर व्यक्त गरेकी थिइन् । त्यसपछि उनीहरु सार्वजनिक कार्यक्रमहरुमा समेत एकसाथ पुग्ने गरेका छन् । पूजा र युद्धको एक पारिवारिक सदस्यको माध्यमबाट चिनजान भएको हो । युद्धले औंठी लगाइदिएर पूजालाई प्रेम प्रस्ताव राखेका थिए ।

गत वर्ष युद्धको जन्मदिनमा पूजाले आफूलाई भगवानले दिएको सबैभन्दा राम्रो उपहार भनेर उल्लेख गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘तिमी मेरो सबैभन्दा राम्रो उपहार हौं, जुन भगवानले मलाई दिनुभएको छ । म तिमीलाई सधैंभरि माया गर्छु । तिमी मेरो जीवनमा तब आयौं जब म टुटेकी थिएँ । तिमी मेरो मुहारको मुस्कान, मेरो आँखामा हाँसो र मेरो जिन्दगीको खुशीको कारण हौं ।’