२०८१ बैशाख १३, बिहीबार    

हेटौंडामा प्रदेशस्तरीय सूचना प्रविधि मेला सुरु

२०७९ चैत्र २, बिहीबार १५:२४ बजे

हेटौंडा विहीबारबाट प्रथम बागमती प्रदेशस्तरीय सूचना प्रविधि प्रदर्शनी मेला सुरु भएको छ ।

हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेस सुरु भएको ‘आइकन सफ्ट क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ एम बैंक’ प्रदर्शनीको उद्घाटन प्रदेशको सामाजिक विकास मन्क्री कुमारी मोत्तानले गरेकी हुन् । उनले रिमोटको प्रयोगबाट दीप प्रज्जवलन गर्दै मेलाको उद्घानटन गरेकी हुन् ।

मेलाको उद्घाटन गर्दै मन्क्री मोत्तानले सूचना प्रविधिको विकास गर्न प्रदेश सरकारले युवासँग सहकार्य गरेर अगाडि बढ्ने रणनीति तय गरेको बताइन् । उनले पैसाको अभावमा सूचना प्रविधिको अनुसन्धान नरोकिने बताइन् । प्रदेश सरकारले अनुसन्धानका लागि विभिन्न क्षेत्रमा चालु आवमा करिब ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले प्रविधिको प्रयोगबाट उपमहानगरलाई ‘स्मार्ट सिटी’को रुपमा अगाडि बढाउन जरुरी रहेको औंल्याइन् ।

कम्प्युटर एसोसिएसन महासंघ नेपाल मकवानपुरका अध्यक्ष शिवकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, बागतमी युवा परिषद् उपाध्यक्ष सन्तोष चौलागार्इं, मकवानपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष प्रमोदसिंह रानाभाट, प्रदर्शनीको मुख्य प्रायोजक आइकन सफ्टका प्रबन्ध निर्देशक श्यामकल श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।