२०८१ बैशाख ८, शनिबार    

घर बहाल कर २ प्रतिशत कायम गर्न माग

२०७९ फाल्गुन १, सोमबार १९:०० बजे

स्थानीय तहले लिँदै आएको घरबाहल कर २ प्रतिशत कायम गर्न माग गरिएको छ ।

नेपाल घर बहाल उपभोक्ता संघले सोमबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गर्दै करको दर घटाउन आग्रह गरेको हो । हाल स्थानीय तहले घर भाडाको दश प्रतिशत कर संकलन गर्दै आइरहेको छ ।

‘विशेष गरी हेटौंडा बजार क्षेत्रमा घरभाडा र करको विषयमा विवाद रहेको छ । अहिले घर बहाल कर घरपेटीलेभन्दा पनि बहालमा बस्नेले तिरिरहेका छन् ।’, संघ मकवानपुर अध्यक्ष समिरलाल डंगोलले यस करबाट व्यवसायी पीडित भएको बताउँदै यसलाई सुधार गर्न जरुरी रहेको औंल्याए ।

‘करको दर घटाएर दायरा बढाउन जरुरी रहेको छ । जसको कारणले धेरै घरपेटी समेटिनेछन् । स्थानीय तहको कर संकलन दरमा कमी आउने छैन ।’, उनले घरपेटीले व्यवसायीसँग लिने गरेको वास्तविकभन्दा असाध्यै कम भाडादर देखाउने गरेको बताए । ‘व्यवसायीले धेरै भाडा तिर्ने गरेका छन् । व्यवसायी आफैंले कर तिर्नुपर्ने र करको दर बढीहुँदा थोरै भाडा तिरेको कागज बनाइरहेका छन् ।’, उनले भने ।

अहिले आर्थिक मन्दी रहेको अवस्थामा समेत घरधनीले हेटौंडा बजारमा व्यवसायीक कवलको भाडा वृद्धि गरिरहेकोभन्दै तत्काल रोक्न उनले माग गरेका छन् । ‘अहिलेको अवस्था भनेको व्यवसायीलाई टिकाउने हो । यस्तो अवस्थामा भाडा दर घटाएर सहयोग गर्न हामी सवै घरपेटीमा अनुरोध गर्दछौं ।’, डंगोलले सम्पूर्ण घरधनीहरुमा यथाशक्य घरभाडा कम गरी अविछिन्नरुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण तयार पारिदिन आग्रह गरेका छन् ।