२०८१ बैशाख २२, शनिबार    

मकवानपुर गोल्डकपको आयव्यय सार्वजनिक, खर्च १ करोड १९ लाख, वचत २ लाख १० हजार

२०८० कार्तिक २५, शनिबार १२:४२ बजे

स्थानीय तह सहिद स्मृति पाँचौ मकवानपुर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को आयव्यय शनिबार सार्वजनिक गरिएको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा एककरोड १९ लाख २२ हजार रुपैयाँ खर्च भएको जनाएको छ । माघ २८ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन भएको प्रतियोगितामा करिब २ लाख १० हजार रुपैयाँ बचत भएको संघ अध्यक्ष टीकाराम लामाले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएका हुन । उनका अनुसार प्रतियोगितामा करिब १ करोड २१ लाख ३३ हजार रुपैयाँ आम्दानी भएको थियो ।

प्रतियोगिताका लागि प्रदेश खेलकुद विकास समितिले ५० लाख, हेटौंडा उपमहानगरपालिकाबाट २५ लाख, टिकटबाट ९ लाख ९१ हजार रुपैयाँ, विभिन्न गाउँपालिकाबाट २५ लाख ६९ हजार रुपैयाँ तथा हेटौंडा स्कुल अफ म्यानेजेमन्टले ६ लाख ९० हजार रुपैयाँ सहयोग गरेको थियो ।

हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको प्रतियोगिताको विजेताले १५ लाख, उपविजेताले १० लाख, सर्वोत्कृष्ट खेलाडीलाई ६ लाख ९० हजार रुपैयाँ बराबरको बुलेट बाइक तथा खेलाडीको टीएडीए, यातायातमा ३२ लाख रुपैयाँ खर्च भएको संघले जनाएको छ । प्रतियोगिताको उपाधी मनाङ मर्स्याङ्दी क्लबले हिमालय शेर्पालाई पराजित गर्दै जितेको थियो ।

उनले आगामी संस्करण पुस महिनाभित्र गर्ने तयारी भइरहेको बताए ।