२०८१ बैशाख १६, आईतबार    

मेयर कप पिप्लेमा हुने, चैत २४ गतेबाट सुरु

२०८० फाल्गुन २९, मंगलबार १७:०५ बजे

हेटौंडामा चैत अन्तिम साताबाट मेयर कप फुटबल प्रतियोगिता–२०८० हुने भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग र नगर खेलकुद विकास समितिको समन्वयमा मेयर कपको चौथो संस्करण हुन लागेको हो । चैत २४ गतेबाट हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा हुने प्रतियोगितामा नगरको १९ वटा वडा सहभागी हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

नकाउट आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ र उपविजेताले एकलाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा करिब १५ लाख रुपैयाँ खर्च अनुमान गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्रप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा राष्ट्रिय टोलीमा सहभागी भइसकेका खेलाडीले खेल्न पाउने छैनन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई दशहजार रुपैयाँ नगदसहित सम्मानित गरिने भएको छ । प्रतियोगितामा विधागतरुपमा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही नगद ५/५ हजार रुपैयाँ प्रदान गरिने घिमिरेले बताए ।