२०८१ बैशाख १५, शनिबार    

प्रहरी र सिमपानी सेमिफाइनलमा

२०८० आश्विन २७, शनिबार १८:३२ बजे

जेसीआई चैनपुर प्रस्तावितको आयोजनामा मनहरी गाउँपालिका ३ हाँडीखोला लामिटारमा सन्चालन भैरहेको जेसीज कप खुला फुटबल प्रतियोगितामा बागमती प्रदेश प्रहरी गण र सिमपानी एफसी सेमिफाइनल प्रवेश गरेका छन् ।

शनिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा प्रहरीले हाँडीखोला यूथ क्लवलाई ३-१ गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । प्रहरीको तर्फबाट देव सुनारले २ तथा दीपक घलेले एक गोल गरेका हुन् । खेलमा प्रहरीले नै सुरुवाती अग्रता लिएको थियो । हाँडीखोलाको तर्फबाट अभिनास राईले एक गोल गरेका थिए । हाँडीखोलाले पेनाल्टी समेत सदुपयोग गर्न सकेन । बिनय तामाङको पेनाल्टी प्रहारलाई प्रहरीका गोलरक्षक मनोज पुनले बचाएका थिए । खेलमा प्रदेश प्रहरी गणका विशाल थिङ म्यान अफ द म्याच भए ।

दोस्रो खेलमा एफसी परेली बस्तिपुरलाई टाइब्रेकरमा हराउँदै सिमपानी एफसीले सेमिफाइनलमा स्थान बनाएको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा परेली खेलबाट बाहिरिएको हो । निर्धारित समय एक एक गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो । टाइब्रेकरमा सिमपानी ४-३ गोलले विजयी भएको हो । खेलमा बस्तिपुरको तर्फबाट आशिष् लामा र सिमपानीको तर्फबाट मनिष पौडेलले गोल गरेका थिए । टाइब्रेकरमा बस्तिपुरको एउटा प्रहार बाहिरिएको थियो भने एउटा प्रहार बारमा लागेर फर्किएको थियो । खेलको म्यान अफ द म्याच परेलीका सुशान्त थिङ भए ।

यहि कात्तिक १ गतेसम्म सन्चालन हुने प्रतियोगिताको बिजेताले ५० हजार ५५५ रुपैयाँ र उपविजेताले २५ हजार ५२५ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीलाई समेत नगद र ट्रफीको व्यवस्था गरिएको छ । प्रतियोगितामा आइतबार आयोजक जेसीआई चैनपुरले केदारेश्वर युवा क्लव रजैयासँग र हाँडीखोला एफसीले सयपत्री क्लव सुनाचुरीसँग खेल्नेछ ।

दशैं, तिहार लगायतको पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्ने र खेलाडीहरुको बीचमा भातृत्वको सम्बन्ध स्थापनासँगै फुटबल खेलको विकास गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक प्रमोद अधिकारीले जानकारी दिए । प्रतियोगितामा मकवानपुरका १६ वटा टिमको सहभागिता रहेको छ ।