२०८१ बैशाख १३, बिहीबार    

कमल थापाको दाजुभाई एन्फा अध्यक्षहुँदा फुटबल ध्वस्त पारे : शेर्पा

२०७९ कार्तिक २२, मंगलबार १९:२३ बजे

कांग्रेसको खेलकुद समन्वय प्रचारप्रसार उपसमितिका संयोजक एवम् अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले राप्रपा नेपालका अध्यक्ष कमल थापा र उनको भाई गणेश थापाले लामो समय एन्फाको नेतृत्व गर्दा पनि मकवानपुरमा खेलक्षेत्रको विकासमा कुनै काम नगरेको आरोप लगाएका छन् ।

‘थापा दाजुभाईले लामो समय एन्फामा नेतृत्व गर्दा पनि मकवानपुरमा फुटबल र अन्य खेलको विकासमा कुनै काम हुन सकेन’, शेर्पाले भने, ‘अहिले ति असफल व्यक्तिहरु नै कोही उम्मेदवार, कोही जिताउने अभियानमा लागेको देखेको छु । आफ्नो पार्टीको चुनाव चिन्हबाट प्रतिपस्पर्धा गर्न नसक्नेले मकवानपुरको विकास गर्लान् भनेर आश गर्नु बेक्कार हो ।’ भूकम्प पीडितको लागि आएको पैसा समेत गणेश थापाले आफू निकटका व्यक्तिहरुलाई बाँडेको उनले आरोप लगाए ।

‘एन्फामा बर्षौं नेतृत्व गर्दा, पटक पटक मन्त्री हुँदा जिल्लाको विकासमा सिन्को नभाँच्नेले अब जितेर मकवानपुरको विकास गर्ला भनेर नसोचे पनि हुन्छ’, शेर्पाले भने, ‘गठबन्धनका उम्मेदवार महालक्ष्मी उपाध्याय, आनन्दराम पराजुलीसहितका नेताहरुलाई जिताउनुहोस् वहाँहरुलाई खेल क्षेत्रमा कस्तो नीति तथा कार्यक्रम बनाउने भनेर हामी सहयोग गर्नेछौं ।’

कांग्रेसका केन्द्रीय प्रवक्ता डा.प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य उमेशजंग रायमाझी, बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठ, मकवानपुर जिल्ला सभापति बुद्ध लामा, खेलकुद समन्वय प्रचारप्रसार उपसमिति बागमती प्रदेश संयोजक कृष्णमुरारी गुरुङ, लोकतान्त्रिक खेलकुद संघ मकवानपुर अध्यक्ष सविन भट्टाचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।