नेकपा एमाले मकवानपुरको अधिवेशन जेठ १८ र १९ गते हुने भएको छ । अधिवेशनका लागि एमाले मकवानपुरले तयारीलाई अन्तिम चरणमा पुगेको जनाइएको छ ।
एमाले मकवानपुरको नेतृत्वको लागि नेताहरू तीव्र लबिङमा रहेका छन् । एमाले केन्द्रबाट कार्यकारी भूमिकामा रहेका जनप्रतिनिधि र राजनीतिक नियुक्ति लिएका व्यक्तिहरू नेतृत्वको दाबेदार बन्न नपाउने निर्देशनसँगै पदमा नरहेका व्यक्तिहरू लबिङमा रहेका हुन् ।
१०५ सदस्य जिल्ला कमिटी चयनका लागि एमाले मकवानपुरको अधिवेशनमा २ वटा प्यानलका बिचमा प्रतिस्पर्धा हुने देखिएको छ । सर्वसम्मत रूपमा नेतृत्व चयनको तयारी रहे पनि चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । एमाले अध्यक्ष पदमा आधा दर्जन बढी नेताहरूको आकाङ्क्षा देखाएका छन् ।
एमाले मकवानपुरको अध्यक्ष पदमा रघुनाथ खुलाल, श्रीधर पोखरेल, इन्द्रमान स्याङतान, ध्रुवप्रसाद चौलागाई, देवराज रिमाल र लालबहादुर थापा लगायकाको चर्चा रहेको छ ।
यसैगरी उपाध्यक्ष पदका लागि नवीन सिग्देल, हिदम लामा, सुनिल मुक्तान, पार्वती रानाको चर्चा छ भने सचिव पदमा मदन कुमार दाहाल, सुमित्रा काफ्ले लगायतको चर्चा रहेको पाइएको छ ।
उपसचिव पदमा सिता विष्ट, खेम जर्गामगर, दीपक खड्का, जुना दाहाल, आरती पाठक, रमिला सापकोटा, इन्द्रप्रसाद नेपाल, सन्तोष चौलागाई लगायतकाको चर्चा रहेको छ ।
अधिवेशनको एमाले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनका लागि जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको संयोजकत्वमा विभिन्न समितिहरू गठन गरिएको छ । सम्मेलनलाई लक्षित गरी १२ वटा समितिहरू बनाई सम्पूर्ण तयारीको काम भईरहेको छ भने २०० जना स्वयंसेवक परिचालन गर्ने श्रेष्ठले बताए ।