२०८१ बैशाख १५, शनिबार    

जम्मकट्टेललाई विश्वासको मत दिने निर्णयविरुद्ध कांग्रेसका ६ सांसदको फरक मत

२०७९ माघ ३, मंगलबार १४:०३ बजे

नेपाली कांग्रेसले वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने निर्णयविरुद्ध आधा दर्जन सांसदले फरक मत राखेका छन् ।मंगलबार प्रदेशसभा सचिवालयस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सांसदहरुको फरक मत रहँदारहँदै पनि विश्वासको मत दिने निर्णय गरेको हो ।

सांसदहरु छिरिङदार्जे लामा, सुरजचन्द्र लामिछाने, श्रीराम लामिछाने, सुरेश श्रेष्ठ, शान्ता ढकाल र गोविन्द लम्सालले लिखित रुपमै फरक मत राखेका हुन् । उनीहरुले कांग्रेसले प्रतिपक्षमा बस्ने भएपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिन नहुने बैठकमा बारम्बार दोहोर्‍याएका थिए ।

दल नेता बहादुरसिंह लामाको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेका थिए । संसदीय दलको बैठक भर्खरै मात्र सकिएको छ ।