२०८१ बैशाख ८, शनिबार    

आधा दर्जन उम्मेदवारविरुद्ध उजुरी

२०७९ बैशाख १४, बुधबार १८:०७ बजे

जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा उम्मेदवार विरुद्ध उजुरी परेको छ ।

हेटौंडा उपमहानगरपालिका, मनहरी र बकैया गाउँपालिकामा गरी ६ जना उम्मेदवारमा उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । हेटौंडा–१९ मा एमालेको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका नरनाथ सुवेदीमाथि करछलीको आरोपमा उजुरी परेको छ । मनहरी उपाध्यक्ष र ३ नम्बर वडा अध्यक्षका उम्मेदवार बिरुद्ध उजुरी परेको छ । उजुरी पर्नेमा नेकपा एकीकृत समाजवादीबाट गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी मनिला विष्ट विरुद्ध उजुरी परेको छ । उपाध्यक्षको उम्मेदवार विष्टलाई गाउँपालिका भित्र बेरुजु र अक्तियारको मुद्दा छानविन गरी असुल उपर गर्नुपर्ने रकम बाँकी रहेको भन्दै उजुरी परेको हो ।

३ नम्बर वडाका उम्मेदवार नेपाली कांग्रेसका अनन्तप्रसाद अर्यालमाथि विद्यालयको राजीनामा पत्र पेस गर्नुपर्ने मागसहित उजुरी परेको हो । बकैयामा ३ जना उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ ।

उजुरी पर्नेमा नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्षका उम्मेदवारी छावा अधिकारी र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका भक्तबहादुर खत्री विरुद्ध उजुरी दर्ता भएको छ । ५ नम्बर वडाका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवारमा उजुरी दर्ता भएको र १६ गतेसम्म छानविन हुने निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

अन्य पालिकामा भने उजुरी परेको छैन ।