२०८१ बैशाख १६, आईतबार    

५ जनाद्वारा आत्महत्याको प्रयास, चारको मृत्यु

२०७९ कार्तिक १४, सोमबार १२:३४ बजे

पछिल्लो समय आत्महत्या गर्नेको दर डरलाग्दोरुपमा देखा परेको छ । शनिबार र आइतबार दुईदिनमा वाग्मती प्रदेशमा ५ जनाले आत्महत्या प्रयास गरेका छन् ।

आत्महत्या प्रयास गर्ने मध्ये ४ जनाको मृत्यु भएको छ भने एकजनालाई उद्दार गरिएको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । आत्महत्या प्रयासगर्नेमा काभ्रे, सिन्धुपाल्चोक, चितवन र दोलखा जिल्लाका छन् । ४ जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने एकजनाले विष सेवन गरेर आत्महत्या प्रयास गरेका छन् । आत्महत्या गर्ने ३ जना पुरुष छन् भने एक महिला छन् । आत्महत्या प्रयास गर्ने अर्की एक महिला छिन् ।

काभ्रेको नमोबुद्व नगरपालिका–९ का ६८ वर्षीय माईला तामाङले आइतबार झुण्डी आत्महत्या गरेको अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा २८ वर्षीया स्यारपुनि तामाङले शनिबार झुण्डिएर आत्महत्या गरेकी छन् । चितवन जिल्लाको भरतपुर महानगरपालिका–१३ मा ४८ वर्षीय सुरेश कमैया चौधरीले आइतबार स्थानीय सामुदायिक वनमा रुखमा पासो लगाई झुण्डी आत्महत्या गरेका हुन् ।

दोलखाको कालिन्चोक गाउँपालिका–६ मा ७० वर्षीय मानबहादुर थामीले पनि आइतबार झुण्डिएर आत्महत्या गरेका छन् । सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउापालिकापा–३ का ३७ वर्षीया राजु तामाङले विषादी सेवन गरी आत्महत्या प्रयास गरेका छन् । आत्महत्या प्रयास गरेकी तामाङको उद्दार गरी उपचार भइरहेको प्रहरीले जनाएको छ ।