२०८१ जेठ ५, शनिबार    

कांग्रेस अधिवेशन: बानियाँमै निर्भरहुँदा संस्थापनलाई झट्कै झट्का

२०७८ फाल्गुन १८, बुधबार १२:०२ बजे

हेटौंडा/ नेपाली कांग्रेस मकवानपुरमा संस्थापन अर्थात शेरबहादुर देउवा समूहलाई झट्कैझट्का लागेको छ ।

कांग्रेसको १४ औं जिल्ला अधिवेशनको मुखमा संस्थापन पक्ष दुई चिरा भएसँगै संस्थापन पक्षमा समस्या सिर्जना भएको थियो । अधिवेशनको सन्दर्भमा वडादेखि क्षेत्रसम्म एकढिक्का भएर अगाडि बढेको संस्थापन पक्ष जिल्ला सभापतिको विषयलाई लिएर विभाजित भएको हो । मकवानपुरमा संस्थापन पक्षको नेतृत्व केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गरिरहेका छन् । विशेष गरी जिल्लाको संगठनमा बानियाँको प्रभाव बढी रहेको छ । सभापतिको सवालमा बानियाँले बुद्ध लामा र डीनाले आनन्दराम पराजुलीलाई समर्थन गरेका थिए ।

जिल्ला अधिवेशनको मुखमा संस्थापन पक्ष विभाजनहुँदा इतर समूहलाई फाइदा पुगेको छ । सभापतिसहित सातजना पदाधिकारीमा ५ जना संस्थापन इतर समूहबाट चयन भएका छन् । संस्थापनमा पदका आकांक्षी धेरै भएपनि बानियाँको इसारमा मात्र उम्मेदवार बन्न खोज्दा हालको अवस्था सिर्जना भएको हो ।

‘इन्द्र दाईले बोलेपछि जितिन्छ भन्नेर ढुक्कहुँदा यस्तो अवस्था सिर्जना भएको हो । जयराम दाईको समूह रहेका नेताहरु उम्मेदवारी टुंगाएर मतदाता घरघरै पुग्दा पनि अर्को समूहमा उम्मेदवारी फिक्स भएन । जसको असर अहिले पर्‍यो ।’, संस्थापन पक्षका एक नेताले भने । उनले संस्थापन पक्षका उम्मेदवार आफूमाभन्दा पनि केन्द्रीय सहमहामन्त्री डीना र प्रदेश सभापति बानियाँमा निर्भरहुँदा यस्तो अवस्था सिर्जना भएको हो ।