२०८१ बैशाख १७, सोमबार    

पहिरोबाट उद्धार गरिएको एकजना मृत्यु, ६ जना अझै वेपत्ता

२०८० श्रावण २३, मंगलबार ०९:४१ बजे

मकवानपुरको वाग्मती गाउँपालिका–५, सिक्रे दोभानमा पहिरोले घर बगाउँदा उद्धार गरिएको एक जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता रहेका छन् ।

वेपत्ताको मकवानपुर र काभ्रेका प्रहरीसहित स्थानीयले खोजी गरिरहेका छन् । अबिरल वर्षाका कारण आएको पहिरो मंगलबार बिहान करिब ४ बजेको समयमा अक्कलबहादुर स्याङ्तानको घर बगाउँदा उनको पत्नीको मृत्यु भएको हो भने ६ जना बेपत्ता भएका हुन् ।

पहिरोमा परी घाइते भएकी ५५ वर्षीय सन्तमाया स्याङ्तानलाई स्थानीयले उद्दार गरी स्थानीय मेडिकलमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । पहिरोमा परी बेपत्ता हुनेमा मकवानपुर वाग्मती–५ सिक्रे दोभानका ५० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनको छोरी २२ वर्षकी शिला पहरी, पहरीकी पति अन्दाजी २५ वर्षको जीवन पहरी, पहरीकी छोराहरु अन्दाजी ४ को मिलन पहरी र छोरी करिब डेढ वर्षीय दिव्या पहरी र घरमा पाहुना आएका सिन्धुली हरिहरपुर गाउँपालिका–१ का १६ वर्षीय पासाङ घिसिङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उद्धारका लागि प्रहरी परिचालन भइसकेको र नजिकैको काभ्रे जिल्लाको सीमामा रहेका प्रहरीले समेत सहयोग गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।