२०८१ बैशाख २५, मंगलबार    

वाग्मतीको बजेटमा चुनाव लक्षित कार्यक्रम

२०७९ असार २, बिहीबार ०९:२५ बजे

वाग्मती प्रदेश सरकारले नजिकिँदै गरेको प्रदेश र संघीय चुनाव लक्षित गरेर कार्यकर्ता पोस्ने गरी समेत बजेट विनियोजन गरेको छ । सरकारले प्रदेशभित्रका केही वडा छनोट गरी नमुना वडा समाजवादी कार्यक्रम लागू गर्न २५ करोड रुपैयाँ विनियोजन गरेको हो ।

देशभर भ्युटावर निर्माणको विरोध भइरहेको अवस्थामा सरकारले बजेट व्यक्तव्यमार्फत हिल स्टेसन निर्माणको घोषणा पनि गरेको छ । सरकारले निजी क्षेत्र र व्यवसायीसँगको सहकार्यमा हिल स्टेसन निर्माण गर्ने जनाएको हो । प्रदेशले आगामी वर्षलाई घुमफिर वर्ष घोषणा गरेको भए पनि यसका लागि बजेट वक्तव्यमा केही उल्लेख गरिएको छैन । अघिल्लो सरकारले ‘घुम्न जाऔं दामन वर्ष’ घोषणा गरेपनि त्यसको उपलब्धि शून्य भएको थियो ।

कृषि तथा पशु पालनको क्षेत्रमा प्रदान गर्दै आएको अनुदान खारेज गरेको प्रदेश सरकारले वास्तविक किसानलाई प्रोत्साहन गर्ने भन्दै घुम्तीकोष स्थापना गरी किस्ताबन्दीमा निर्ब्याजी बीउ पुँजी वितरण गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण प्रवाह कार्यक्रम शीर्षकमा २ अर्ब बजेट छुट्याएको छ । त्यस्तै, कर्मचारीको तलब संघीय निजामतीसरह अर्थात् १५ प्रतिशत वृद्धि गरिएको छ । निजामती र करार कर्मचारीलाई मासिक २ हजार रुपैयाँ महँगी भत्ता दिने जनाइएको छ ।