२०८१ बैशाख १५, शनिबार    

असोजमा मिस्टर मकवानपुर हुने

२०८० भाद्र ८, शुक्रबार १५:४२ बजे

तेस्रो मिस्टर मकवानपुर असोज १३ गते हेटौंडामा हुने भएको छ ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा मिस्टर मकवानपुर हुन लागेको हो ।

मकवानपुर जिल्लाभित्रका शारीरिक सुगठनमा रुची भएका करिब ५० जना प्रतियोगितामा सहभागी हुने अनुमान गरिएको आयोजकले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ ।
आयोजक अध्यक्ष राजेश भेटवालका अनुसार प्रतियोगितामा करिब १२ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख, द्वितीय ५०, तृतीय ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विभिन्न तौल समूहमा प्रथम हुनेलाई जनही नगद दश/दश हजार रुपैयाँ तथा महिलाहरु एउटै समूहमा प्रतिस्पर्धा गराइने अध्यक्ष भेटवालले बताए । प्रतियोगितामा पुरुषतर्फ ५५, ६०, ६५, ७० र ७५ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा धेरै खेलाडी सहभागी गराउने क्लबलाई उत्कृष्टका रुपमा नगद २५ हजार रुपैयाँसहित सम्मानित गरिनेछ ।

‘प्रतियोगितामा राष्ट्रियस्तरका रेफ्रीबाट हामी निर्णय गर्नेछौं । बडिबिल्डिङमा चासो राख्ने युवाहरुलाई प्रेरणा होस् भनेर हामीले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएका छौं ।’, भेटवालले कोभिडको कारण दुई वर्ष प्रतियोगिता रोकिएको बताए ।

प्रतियोगिताको समापन समारोहमा खेल, पत्रकारिता तथा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउनेलाई एक/एक जनालाई सम्मानित गरिने आयोजकको तयारी छ । स्थानीय तह, प्रदेश सरकार तथा विभिन्न संघसंस्थाबाट आयोजकले सहयोग प्राप्त हुने अपेक्षा गरेको छ ।

पत्रकार सम्मेलनमा संघ प्रदेश कोषाध्यक्ष सुनिल अधिकारीले सबैको सहयोगले प्रतियोगिताबाट फरक सन्देश प्रवाह गर्ने र आगामी प्रतियोगितालाई थप सहयोग पुग्ने बताए ।