२०८१ बैशाख १४, शुक्रबार    

थाहा नगरमा गठबन्धनको तीब्र प्रचारप्रसार

२०७९ बैशाख २०, मंगलबार १६:२९ बजे

हेटौंडा– मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि गठबन्धनले प्रचारप्रसारलाई तीब्रता दिइरहेको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको तालमेलमा गठबन्धन भएको थाहा नगरका १२ वटै वडामा प्रचारप्रसारलाई तीब्रता दिइएको हो । थाहा माओवादी केन्द्रबाट मेयरमा विष्णु बिष्ट र काँग्रेसबाट उपमेयरमा भरत गोपाली उम्मेदवार बनेका छन् । 


१२ नम्बर वडा बाहेकका वडामा गठबन्धन नभएपछि मेयर, उपमेयरका लागि दलिय गठबन्धनले मत मागिरहेको उपमेयरका उम्मेदवार गोपाली बताए । ‘वडागत अवस्थामा १२ नम्बरबाहेक कुनै पनि वडामा गठबन्धन भएको छैन, ११ वटा वडामा एक्लाएक्लै चुनावी मैदानमा होमिए पनि गठबन्धनमा रहेका सबै दलले मेयर र उपमेयरका लागि प्रचारप्रसारसँगै मत मागिरहेका छन् ।’ गोपालीले भने, ‘यहाँ गठबन्धनको प्रचारप्रसार उत्साहजनक छ ।’
थाहामा यसअघि २०७४ मा पनि माओवादी केन्द्र र काँग्रेसबीच गठबन्धन भएको थियो । माओवादीबाट मेयरमा लवशेर विष्ट र उपमेयरमा काँग्रेसबाट खड्ग गोपाली निर्वाचित भएका थिए ।

संयुक्त पाँच दलिय गठबन्धनमा पनि यसपटक माओवादी केन्द्र र काँग्रेसको भागमा पर्ने गरी थाहा नगरमा तालमेल गर्दा जितका लागि सहज भएको मेयरका उम्मेदवार बिष्टले बताए । उनले घरदैलो, जनतामा गठबन्धनको प्रतिबद्धता पुर्‍याउने र जनताका समस्यालाई मुख्य एजेन्डा बनाएर प्रचारप्रसारमा जुटेको जानकारी दिए । ‘हामी मेयर, उपमेयरका उम्मेदवार दुबै संयुक्त प्रचारप्रसारमा लागि रहेको र वडावडामा रुपमा जनताको उत्साहजनक सहभागिता छ ।’ उनले भने, ‘यसअघि माओवादी, काँग्रेसबाट मेयर उपमेयर निर्वाचित भएपछि जनताका समस्या समाधान र नगरको विकासलाई तीब्रता दिइएका कारण यसपटक पनि जनताले विश्वास गर्नेमा हामी विश्वस्त छौं ।’
पर्यटकीय नगरीको रुपमा देशभर परिचित थाहामा पर्यटकीय विकाससँगै अधिकांश जनताका कृषिसँग जोडिएकोले आधुनिक कृषिमा जोड दिने उपप्रमुखका उम्मेदवार विष्टले प्रतिबद्धता व्यक्त गरे । उनले प्रचारप्रसारको क्रममा गठबन्धनका सबै उम्मेदवारले जनताको समस्यालाई समेट्ने विश्वास दिलाइरहेको बताए । १० स्थानीय तहमध्ये उत्कृष्ट मानिएको थाहा नगरमा हाल करिब ३२ हजार मतदाता छन् ।