२०८३ भाद्र २१, आईतबार    

नेकपा एसका उपाध्यक्ष न्यौपाने एमालेमा फर्किए

२०८० जेठ २२, सोमबार ११:२३ बजे

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपाने नेकपा एमालेमा फर्किएका छन्। पार्टी विभाजनपछि नेकपा एसको उपाध्यक्ष रहेका न्यौपानेलाई अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाललगायतका नेताहरूले आइतबार पार्टी कार्यालय च्यासलमा स्वागत गर्दै प्रवेश गराए । 

प्रवेश कार्यक्रममा नेकपा एसका अर्का उपाध्यक्ष केशवलाल श्रेष्ठ पनि सहभागी भएका थिए। श्रेष्ठले एमाले अध्यक्ष ओलीले नेकपा एससहितका सबै कम्युनिस्ट पार्टीहरूलाई मिलाएर बलियो कम्युनिस्ट पार्टी बनाउने अभियानको नेतृत्व लिनुपर्ने प्रस्ताव लिएर एमाले पार्टी कार्यालय च्यासल पुगेको बताए ।

‘पाँच वर्षको समय र पछिल्लो निर्वाचन परिणामले कम्युनिस्ट आन्दोलनमा तीव्र क्षयीकरण भएको देखायो, करिब दुईतिहाइ बहुमत ल्याएको कम्युनिस्ट पार्टी पछिल्लो निर्वाचनमा संसदमा पहिलो दल बन्न सकेन,’ श्रेष्ठले भने, ‘त्यसैले मैले केपी कमरेडलाई सबै कम्युनिस्ट पार्टीलाई एकतामा ल्याउने काममा लागौँ भन्ने आग्रह गरेँ, उहाँलाई एकीकृत शक्ति निर्माणको नेतृत्व लिनुस् भनेर आग्रह गर्न एमाले पार्टी कार्यालय गएको हुँ ।’ 

श्रेष्ठले देशमा नयाँखाले चुनौती देखिएकाले अहिलेकै तरिकाले पार्टी सञ्चालन हुन नसक्ने भएकाले एकता अभियानको नेतृत्व लिन नेकपा एसभित्रै पनि मत राख्दै आएको र त्यसका लागि अग्रसरता लिन अध्यक्ष माधवकुमार नेपाललाई पनि आग्रह गर्दै आएको जानकारी पनि दिए ।

 ‘मैले मेरो प्रस्ताव पार्टीभित्रको छलफलमा र अध्यक्षसँग पनि राखिसकेको छु, यस्तै हो भने नेपालमा कम्युनिस्ट पार्टीहरूको हालत पश्चिम बंगालको जस्तो हुन सक्छ, त्यसैले अब एकीकृत हुनुबाहेकको कुनै विकल्प छैन ।’