२०८० फाल्गुन १५, मंगलबार    

समृद्धिको स्पष्ट नीति नहुँदा समस्या भयोः मुख्यमन्त्री जम्कट्टेल

२०८० माघ १८, बिहीबार १८:३३ बजे

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश समृद्धिको स्पष्ट नीति नहुँदा समस्या भएको बताएका छन् ।

बागमती प्रदेशसभाको छैटौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेशको समृद्धि र यात्राको स्पष्ट नीतिको अभाव भइरहेको बताए ।

समृद्धिको यात्रामा प्रदेश सरकारले स्पष्ट नीतिका साथ काम गर्न अघि बढ्ने तयारी गरेको उनले बताए । सरकारले समृद्धिका लागि नीति निर्माण गर्ने तयारी गरेको मुख्यमन्त्री जम्कट्टेलले बताए । सरकारले नयाँ सुरुवात गर्ने उद्देश्य अनुसार खास क्षेत्रहरुमा विषेश नीति निर्माण गरेर कार्यक्रम कार्यान्वयनमा अघि बढेको उनले बताए । जनताले वर्तमान व्यवस्थाको विकल्प नखोजेको भन्दै सरकार सिस्टमको अधिनमा नै रहेर काम गरिरहेको उनको भनाई छ ।

‘हाम्रो यात्रा कता हो । निश्चित समयपछि हामी पुग्ने कहाँ हो । त्यो एकीन छैन । हामीसंग प्रदेशको समृद्धिको स्पष्टि नीति नै छैन ।’ उनले भने ‘हामी परम्परागत शैलीमा चलिरहेका छौं । नयाँ सुरुवातको साहस कसैले गर्न सक्दैनन् । नयाँ गर्ने हाम्रो चाहना कसैसंग छैन । हाम्रो राजनीति र कर्मचारी संरचना पुरानै शैलीको छ ।’

प्रदेश सरकारको ठुलो हिस्सा पूर्वाधार विकासमा लगानी भइरहेको र त्यसमा आफूलाई गर्व रहेको उनको भनाई । भौतिक पूर्वाधार क्षेत्रमा ५० लाख भन्दा कमका योजनाहरु स्थानीय सरकारलाई पठाउने र सो भन्दा माथिका योजनालाई पूर्वाधार तथा सडक पुल निर्माण सम्बधी नीति निर्माण गरेर अघि बढ्ने तयारी गरेको मुख्यमन्त्री जम्कट्टेलले बताए । पछिल्लो समय सरकारको आलोचना तिव्र भइरहेकाले सबैले जिम्मेवार ढंगबाट काम गरेर जवाफ फर्काउन जरुरी रहेको उनले बताए । प्रदेश सरकारले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारका लागि आवाशिय मोडलमा संचालन गर्ने नीति अवलम्बन गर्ने तयारी गरेको उनले बताए ।

उनमा अनुसार प्रदेशका नागरिकहरुलाई व्यवहारिक सिप प्रदान गर्न सरकारले सिटिइभिटीका प्राविधिक कोर्षहरुलाई माध्यमिक विद्यालयस्तरमा ल्याउने गरी अघि बढेको छ । सार्वजनिक विश्वविद्यालय स्थापनाको लागि प्रदेश सरकार अन्तिम तयारीमा गरिरहेको उनको भनाई छ । कृषि क्षेत्रको रुपान्तरणका लागि सरकारले समुदायमा आधारित उत्पादन मोडलमा रहेर कृषक, सहकारी र सरकारलाई जोड्ने गरी काम अघि बढाएको उनले बताए ।