२०८१ माघ २८, सोमबार    

बागमतीका प्रदेश प्रमुखद्वारा दुईवटा विधेयक प्रमाणिकरण, एउटा फिर्ता

२०८१ कार्तिक १, बिहीबार १८:०२ बजे

बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकाेटाले २ वटा विधेयक प्रमाणिकरण गरेका छन् भने एउटा विधेयक फिर्ता पठाएका छन् ।

प्रदेश प्रमुख देवकाेटाले बिहीबार प्रदेश सभाबाट पारित भएकाे प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक तथा प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।

प्रदेश सभाको ७ असोज २०८१ को बैठकबाट पारित भई १८ असोज २०८१ मा प्रमाणीकरणको लागि नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम पेश हुन आएको उक्त विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखबाट प्रमाणीकरण भएकाे हाे ।

प्रमाणीकरण भएकाे विधेयक प्रदेश राजपत्रमा प्रकाशित भएपछि ऐनकाे रुपमा लागू हुनेछ ।  यसैगरी प्रदेश प्रमुखले प्रदेश सभाबाट पारित भई प्रमाणीकरणको प्राप्त “प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक" नेपालको संविधानको धारा २०१ को उपधारा (३) बमोजिम पुनर्विचारकाे लागि प्रदेश सभामा फिर्ता गरेका छन् ।

बिहीबार प्रदेश प्रमुख देवकाेटाले प्रदेश सभा सभामुखलाई सम्बाेधन गरी उक्त विधेयक फिर्ता गरेका हुन् । फिर्ता गरिएकाे विधेयक सभामा छलफल गरी संसाेधनसहित पारित भइ पुनः प्रमाणीकरणकाे लागि पठाउनु पर्ने संवैधानिक व्यवस्था छ ।