२०८१ बैशाख १५, शनिबार    

मकवानपुरमा मृतकको पनि मतदाता कायमै

२०७८ चैत्र २८, सोमबार ०९:०३ बजे

मकवानपुरका १० वटै स्थानीय तहले मृत्यु भएकाहरुको विवरण नदिँदा मृतक पनि मतदाता कायम भएका छन् ।

२०७४ को निर्वाचनपछि मृत्यु भएका मतदाताहरुको नामावली हटाउन निर्वाचन आयोगले संचालन गरेको अभियान अन्तर्गत मकवानपुरमा प्रदेश निर्वाचन कार्यालय हेटौंडाले २७–२९ फागुनसम्म मृतक मतदाताको लगत कट्टाको मिति तय गरेको थियो ।

३० बैशाखमा हुने स्थानीय तहको निर्वाचन तयारीका लागि १६ फागुनमा निर्वाचन कार्यालयले १० वटै स्थानीय तहलाई मृत्यु दर्ता अनुसार मृत्यु भएकाहरुको विवरण उपलब्ध गराउन पत्र पठाएको थियो । तर, स्थानीय तहले वेवास्ता गर्र्दै विवरण उपलब्ध नगराएको भन्दै निर्वाचन कार्यालयले लगत कट्टा गरेको छैन । जसका कारण मकवानपुरमा २०७४ पछि मृत्यु भएका मतदाताको नाम मतदाता नामावलीमा कायमनै छ । प्रदेश निर्वाचन अधिकारी लुम्बनाथ पोखरेलले स्थानीय तहले विवरण उपलब्ध नगराउँदा मृत्यु मतदाताको नाम हटाउन नसकिएको बताए ।

‘हामीले १६ फागुनमै पत्रमार्फत स्थानीय तहसँग मृत्युको विवरण माग गरेका थियौं ।’ उनले भने, ‘१० वटै स्थानीय तहले विवरण पठाएनन्, जसका कारण २७–२९ फागुनभित्र मतदाता नामावलीबाट नाम हटाउन सकिएन ।’ उनले कोहि व्यक्तिले आफ्नो आफन्तको मृत्यु दर्ता र मतदाता परिचय पत्र वा प्रमाण खुल्ने कागज लिइ कार्यालयमा आएर नामावलीबाट नाम हटाउन माग गरेमा पनि नाम हटाउन मिल्ने बताए ।

उनले मृतक मतदाताको नाम हटाउँदा पनि फर्जि मत नखस्ने दाबी गरे । फोटोसहितको मतदाता नामावली र परिचय पत्र भएकोले अनुहार रुजु गरेर मात्र मत हाल्न दिइने भएको हुँदा फर्जि मत खस्ने सम्भावना नहुने उनको भनाइ छ । मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ जना मतदाताको नाम कायम भएको छ । जसमा १ लाख ४९ हजार ९ सय ५४ जना पुरुष, १ लाख ४४ हजार ९ सय ५९ जना महिला र ६ जना अन्य मतदाता रहेका छन् ।

विवरण पठाउन स्थानीय तहको वेवास्ता

मृत्यु भएकाहरुको विवरण निर्वाचन कार्यालयलाई उपलब्ध गराउन स्थानीय तहले वेवास्ता गरेका छन् ।

१६ फागुनमै पत्र पठाएपनि स्थानीय तहहरुले पत्रबारे वेवास्ता गर्दा निर्वाचन कार्यालयले विवरण प्राप्त गरेकै कारण मृतक पनि मतदाता बनेका हुन् । थाहा नगरपालिका प्रमुख लवशेर विष्टले पत्रबारे आफु जानकार नभएको प्रतिक्रिया दिए । उनले पत्राचार, चिठ्ठी पत्रबारे कर्मचारीको काम भएकोले आफु जानकार नभएको उनले बताए ।

‘निर्वाचन कार्यालयले पत्र पठाएको हुन सक्छ, म यसबारे जानकार छैन ।’ उनले भने, ‘कर्मचारीबाट विवरण पठाइएको पनि हुन सक्छ । यदी नपठाएको भएपनि घटना दर्ताको विवरण निर्वाचन कार्यालयले केन्द्रीय तथ्यांकबाट प्राप्त गर्न सक्छ । विवरण स्थानीय तहले नै पठाउनुपर्छ भन्ने छैन ।’

भीमफेदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमलाल महर्जनले पत्रानुसार वडा–वडाबाट विवरण संकलन भइरहेको बताए । २–३ वटा वडा बाँकी भएकोले दुई दिनभित्र निर्वाचन कार्यालयलाई विवरण बुझाउने उनले प्रतिक्रिया दिए । हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले उपमहानगरपालिकामा पत्र प्राप्त नभएको बताए ।

‘हामीलाई पत्र प्राप्त भएको छैन, निर्वाचन कार्यालयबाट पत्र पठाउँदा त्रुटी भएका कारण यहाँ नआइपुगेको हुन सक्छ ।’ उनले भने, ‘पत्र प्राप्त हुँदा विवरण उपलब्ध गराउन कुनै समस्या नै रहँदैन ।’