२०८१ बैशाख १७, सोमबार    

यसकारण मकवानपुर १ मा डिनाको सम्भावना बलियो

२०७९ कार्तिक २४, बिहीबार १६:३५ बजे

मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ उम्मेदवार रहेकी छिन् । उम्मेदवार बनेसँगै मकवानपुर १ मा डिनाको लोकप्रीयता बढ्दै गएको छ । उनको यो चौथो पटक चुनावी प्रतिस्पर्धा पनि हो ।

विद्यार्र्थी कालबाटै कांग्रेसको राजनीतिमा आवद्ध भएकी उनी पार्टीमा पनि उत्तिकै सक्रिय छिन् । सोही सक्रियताका कारण उनी समानुपातिकतर्फको पहिलो नम्बरको दावेदार हसँदा पनि त्यसलाई त्यागेर मकवानपुर प्रतिनिधिसभा १ जनताको सेवाको लागि प्रत्यक्ष तर्फको उम्मेदवार भएकी हुन् । उनले मकवानपुर–१ को भुगोलबाट जनताको मतबाट अनुमोदन हुन विभिन्न क्षेत्रलाई समेटेर आफ्नो चुनावी संकल्पहरु पनि सार्वजनीक गरिसकेकी छिन् । सहजै समानुपातिकबाट सांसद हुने निश्चित भए पनि जनतासँग प्रत्येक्ष जोडिएर मकवानपुरको विकास र समृद्धिको कामका लागि चुनावी मैदानमा आएको डिना बताउँछिन् । जनताको मत जितेर उच्च मतान्तरका साथ चुनाव जित्ने उनको दावी छ । विगतको जस्तो आगामी निर्वाचनमा चुनौतिको महशुस नरहेको उनको भनाई छ ।

‘आगामी निर्वाचनमा मलाई कुनै चुनौती छैन । भारि मतका साथ चुनाव जित्छु’, उनले भनिन् । विगतमा आफुले गर्न चाहेका तर सत्ता विहिन हुँदा सम्भव नभएका अधुरा कामहरु पुरा गर्ने डिनाको लक्ष्य रहेको छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा सहित सिंगो मकवानपुरको विकासलाई सहि दिशामा गति दिन आफ्नो उम्मेदवारी रहेको उनी बताउँछिन् । लामो समय एमाले र कम्युनिटहरुले शासन गरेको मकवानपुरमा २०७० मा कांग्रेसले जितेपछि बसालेको विकासको जगलाई थप मजबुद बनाउनु आफ्नो उद्देश्य रहेको उनको भनाई छ ।

‘सडक पुल निर्माण विकासको मेरुदण्ड तर त्यो नै विकास होइन, जनताको आवश्यकता र उनीहरुलाई राज्य भएको अनुभूति गराउनु नै विकास हो’, उनले भनिन्, ‘हामी विकास विकास भन्छौ अनि बाटो बनाउँछौ, पुल बनाउँछौ तर आम जनताको स्वास्थ्यको पहुँच कतिको छ ? हामी बिर्सन्छौ । शिक्षाको पहुँच कस्तो छ ? भन्ने बारे हाम्रो ध्यान नै पुग्दैन । जनतकाको जीवन स्तरसंग जोडिएका कुराहरु हामीले सम्बोधन गर्न सकेका छैनौ । जनतालाई सरकारको अनुभूति दिलाउन र उनीहरुले राज्यबाट पाउने सेवामा सहज पहुँच पु¥याउनु मेरो मुख्य काम हो ।’ जनताको दैनीकीसँग जोडिएका कतिपय कुराहरुमा अझै पनि कानुन बाधक बनेको र केही कानुन पुराना भएकाले जनतालाई सेवा दिन नै समस्या भइरहेकोले त्यसको परिवर्तन÷संशोधन गर्नु आफ्नो जिम्मेवारी रहेको उनी बताउँछिन् ।

‘म यस्तो गर्छु उस्तो गर्छु । यो बनाउँछु त्यो बनाउँछु भन्दिन । म सामान्य काम गर्छु जसले जनताको जीवनस्तरमा प्रत्यक्ष सरोकार राख्छ । महिलाहरुलाई अवसर दिएर अघि बढाउँछु । शिक्षाबाट बञ्चित भएकाहरुलाई विद्यालयसम्म जाने वातावरण कानुनतः निर्माण गर्छु । स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन मेरो भूमिका हुन्छ’, उनले भनिन् । हेटौँडा उपमहानगरलाई समृद्ध बनाउन औद्योगिकीकरणमा जोडदिँदै युवाहरुको लागि रोजगारको अवसर सृजना गर्नु आफ्नो पहिलो पहिलो प्राथमिकता रहेको उनले बताइन् । उनले सबल महिलाहरुलाई अवसरमा प्रदान गरि महिला सशक्तीकरणलाई प्राथमिकता दिएकी छिन् ।

समान अवसर, न्यायपूर्ण समाजको निर्माण र महिलाको सम्मान, सम्मानित स्वस्थ जीवन र सुरक्षा, ज्येष्ठ नागरिकको हेरचाह, शिक्षा, स्वास्थ्य, कृषि, सहकारी र उद्योग कलकारखानाको विकास र विस्तर, हेटौंडालाई सफा, सुन्दर, हरियाली र भौतिक पूर्वाधार सम्पन्न प्रदेश राजधानी बनाउने, सुशासन, दिगो विकास र राष्ट्र निर्माणमा आफ्नो योगदान रहने उनको भनाई छ । आर्थिक समृद्धिका लागि पनि आफुले पार्टी र सदनबाट महत्वपूर्ण भुमिका खेल्ने उनले बताइन् । मकवानपुरको भुगोलको पहिचार गरेर विकास र समृद्धिको नमुना निर्माण गरिसकेकाले त्यसको सफल कार्यान्वयनका लागि आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ ।