२०८१ जेठ ४, शुक्रबार    

प्रदेशसभा स्थापना दिवस: मञ्चमै त्रिपक्षीय जुहारी

२०७८ माघ १८, मंगलबार १३:१८ बजे

हेटौंडा/ वाग्मती प्रदेशसभा स्थापना भएको मंगलबार चारवर्ष पूरा भएको छ । प्रदेशसभा स्थापनाको सन्दर्भ पारेर आयोजित कार्यक्रममा सत्तापक्ष–प्रतिपक्ष र सभामुखवीच त्रिपक्षीय जुहारी भएको छ ।

प्रदेशसभा सचिवालयद्वारा आयोजित वार्षिकोत्सव समारोहमा सभामुख सानुकुमार श्रेष्ठ, मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको नेता अष्टलक्ष्मी शाक्यबीच जुहारी चलेको हो । स्थापना दिवसमा अवसरमा शुभकामना दिने क्रममा उनीहरुले एक अर्कालाई आरोप्रत्यरोपमा उत्रिएका हुन् । पुर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलको नेता शाक्यले वर्तमान सरकार संसदको मर्यादा विपरित काम गर्न अग्रसर भएको टिप्पणी गरिन् । बागमती प्रदेश सरकारले धान्नै नसक्नेगरी मन्त्रिमण्डल विस्तार गरेको उनको आरोप थियो ।

शाक्यपछि मन्तव्य दिन उठेका मुख्यमन्त्री पाण्डेले आक्रोशित बन्दै करिव आधा घण्टा लामो भाषण गरेका छन् । लामो समय केन्द्रिय संसदमा राजनीति गरेर आएको भन्दै मुख्यमन्त्री पाण्डेले आफूलाई संसदीय मर्यादा र संस्कार नसिकाउन शाक्यलाई आग्रह गरे । ‘प्रमुख प्रतिपक्षी दलको नेताले अध्ययन गरेर बुझेर मात्रै बोल्नुपर्छ । अरुको लहडमा लागेर गलत कुराको प्रचार गर्न हुदैन,हामीले अहिलेसम्म कुनै योजना कटौती गरेका छैनौ।’ मुख्यमन्त्री पाण्डेले अहिलेसम्म आफू नेतृत्वको सरकारले एमालेले ल्याएको योजना र बजेट कटौती नगरेको भन्दै गलत कुराको प्रचार गरे गम्भीर दुर्घटना हुन सक्ने चेतावनी समेत दिए । कार्यक्रमको समयवधि भर आक्रोशित मुद्रामा प्रस्तुत भएका मुख्यमन्त्री पाण्डेले प्रदेशसभाको सभामुख सानुकुमार श्रेष्ठको भुमिका एउटा राजनीतिक दलको कार्यकर्ता जस्तो बनेको टिप्पणी गरेका थिए ।

सभामुख श्रेष्ठले अहंकार नत्यागेसम्म अगाडि बढ्न नसक्ने भन्दै प्रदेशको मुख्यमन्त्री पाण्डेलाई काउण्टर गरेका छन् । प्रदेशसभाको वार्षिकोत्सवको समापन समारोहमा बोल्दै सभामुख श्रेष्ठले भने ‘शान्ति सहकार्य र सहअस्तित्वले आउछ । अहंकारले मान्छेलाई अगाडि बढ्न दिदैन । त्यसैले अहंकार भावना त्याग्नुपर्छ।’ उनले अप्रत्यक्ष रुपमा मुख्यमन्त्रीलाई लक्षित गर्दै स्थानीय तहको निर्वाचन र एमसीसीको विषयमा असमझदारी बढ्दै गएको भन्दै अहंका् नदेखाउन आग्रह गरे ।