२०८१ बैशाख १४, शुक्रबार    

कांग्रेस बागमती संसदीय दलमा प्रकाशमान समूह निर्णायक

२०७९ पौष १, शुक्रबार १५:२२ बजे

बागमती प्रदेशमा कांग्रेस संसदीय दलको नेताका लागि देउवा पक्षमै रस्साकस्सी देखिएको छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुरसिंह लामाबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

मुख्यमन्त्री बन्न संसदीय दलको नेता बन्नु पर्ने प्रावधान रहेको छ । सोही अनुसार दलको नेता बन्न दुवै नेताहरु तीव्र लविङमा छन् । दुवै जना कांग्रेसको संस्थापन पक्षका नै हुन् । दलको नेता चुनिन बानियाँ र लामा दुवै निर्वाचन जितेदेखि नै काठमाडौंमा नै रहेका छन् ।

 

संसदीय दलको नेता बन्ने दौडमा रहेका दुवै नेताहरुलाई आ–आफ्नो भुगोलका केन्द्रीयस्तरका नेताहरुको सहयोग भने रहने देखिँदैन । बानियाँलाई मकवानपुरको भूगोलबाट सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले रुचाएकी छैनन् । यता लामालाई पनि आफ्नो भुगोलले समर्थन गर्ने देखिँदैन । नुवाकोटबाट केन्द्रीय नेता अर्जुननरसिंह केसी लगायतका नेता लामालाई रोक्न चाहन्छन् ।

 

बानियाँ कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्र हुन् भने लामा प्रवक्ता प्रकाश शरण महत निकट छन् । बानियाँलाई देउवासँगै नेता प्रकाशमान सिंह र महामन्त्री गगन थापाको समर्थन देखिन्छ भने लामालाई महतका साथै सह–महामन्त्री डीनाले सघाएकी छिन् ।

बागमती प्रदेशमा देउवा पक्षका २४, सिंह पक्षका ९ जना गरी संस्थापन पक्षसँग ३२ जना सांसद छन् । कोइराला–थापा समूहका ५ जना मात्र सांसद छन् । बानियाँ र लामाबीचको प्रतिस्पर्धा हुँदा देउवा पक्ष दुई भागमा विभाजित हुने छ भने सिंह र थापाको साथ पाउनेको पल्लाभारी हुने देखिन्छ । 

प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्वाचित भएका बानियाँ कांग्रेस बागमती प्रदेश सभापति समेत हुन् । २०७४ मा नै दलको नेता भएर काम गरेका बानियाँ यो पटक त्यत्तिकै मुख्यमन्त्री छाड्न तयार देखिँदैनन् ।

पार्टीको केन्द्रीय सदस्य समेत रहेका लामा प्रतिनिधिसभा सदस्यको टिकटका दाबेदार थिए । पार्टीको आन्तरिक समस्या सुल्झाउन उनलाई प्रदेशसभामा झारिएको थियो । निर्वाचित भए लगत्तै उनी पनि मुख्यमन्त्री बन्ने आकांक्षा व्यक्त गर्दै दलको नेता बन्न प्रयासरत रहेका छन् ।

यी दुई नेताहरुबीच प्रतिस्पर्धा हुँदा हालको समीकरणमा लामालाई भन्दा बानियाँलाई सहज हुने अवस्था देखिन्छ । कांग्रेसको नेताका अनुसार बानियाँलाई दोस्रो कार्याकाल भएकाले पनि सहज हुने अनुमान गरिएको छ । कांग्रेसमा फस्टम्यान नै दलको नेता हुने भएकाले बानियाँको सम्भावना बलियो रहेको कांग्रेसका एक नेता बताउँछन् ।

निर्वाचनको समयमा १० जनालाई टिकट वितरण गरेका बानियाँले अधिकांशलाई जिताएका छन् । दलको नेता बन्नका लागि यसको फाइदा पनि बानियाँले उठाउने देखिन्छ । कांग्रेसको एक स्रोतका अनुसार बानियाँको पक्षमा २६ जना सांसदको साथ हुने बाताएको छ ।