२०७९ आश्विन १८, मंगलबार    

सञ्चारकर्मीलाई कैद सजाय नहुने

२०७९ श्रावण ३१, मंगलबार १६:०८ बजे

वाग्मती प्रदेशले सञ्चार संस्थाका सञ्चालकलाई कैद सजाय गर्न सक्ने कानुनी व्यवस्था हटाएको छ ।

प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ मा प्रदेशसभाले गरेको संशोधनमा एक बर्षसम्म कैद गर्न सक्ने पुरानो व्यवस्थालाई हटाएको हो । मूल ऐनको दफा ४६ मा रहेको दण्ड सजायसम्बन्धी व्यवस्थामा इजाजतपत्र नलिई कार्यक्रम उत्पादन, वितरण, प्रशारण तथा डाउनलिंक गरेमा त्यस्तो व्यक्ति वा संस्थाका कार्यकारी प्रमुखलाई १५ दिन समय दिइ पहिलो पटक सचेत गराउने र पुन: सोही प्रकृतिको कसुर दोहोर्‍याएमा इजाजतपत्र दस्तुर बरावरको रकम असुल उपर गरी सो बरावरको रकम जरिवाना गर्न सक्ने नया व्यवस्था गरिएको छ । सोही दफाको उपदफा (२) मा प्रकाशन तथा प्रसारण गर्न नहुने कुरा गरेमा विषयको गाम्भीर्यता हेरी पच्चीस हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था गरिएको छ । मूल ऐनको दफा ४६ को उपदफा (१) र (२) को गल्ती गर्नेलाई एक बर्षसम्म कैद र उक्त रकम बरावरको दण्ड सजाय गर्ने वा दुवै सजाय हुन सक्ने व्यवस्था थियो ।

उफदफा १ र २ मा लेखिएको बाहेक ऐन र ऐनअन्तर्गत् बनेको नियम बमोजिम गर्नु पर्ने कार्य नगरेमा वा गर्न नहुने कार्य गरेमा सञ्चार रजिष्ट्रारले कसूरको मात्रा हेरी तीन हजारदेखि एकलाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ । यसअघि जरिवाना तीन हजारदेखि ५० हजार रुपैयासम्म थियो ।
कुनै सञ्चार माध्यमले ऐन र ऐन अन्तर्गत बनेको नियमावली बमोजिम नवीकरण नगरी कार्यक्रम सञ्चालन गरेमा वा नवीकरण नगरी बिज्ञापन वापतको कुनै रकम उठाएको प्रमाणित भएमा त्यस्तो संस्थालाई जति बर्षको नवीकरण नगरेको हो त्यति बर्षको नवीकरण गर्दा लाग्ने शुल्क बरावरको जरिवाना गरी सो अवधिमा बिज्ञापन वापत उठाएको शुल्क असूल उपर गर्ने नयाा व्यवस्था ऐनमा थपिएको छ । पहिलो पटक कार्वाही पश्चात पुन सोही किसिमको कार्य गरेमा सञ्चार रजिष्ट्रार कार्यालयले थप कार्वाहीका लागि मन्त्रालयमा लेखी पठाउने व्यवस्था नयाा ऐनमा थपिएको छ ।

प्रदेशको सञ्चार रजिष्ट्रार कार्यालयमा ९६ वटा एफ एम रेडियो, ३७ वटा टेलिभिजन, १४० वटा अनलाइन दर्ता भएका छन् भने सात सय भन्दा बढी पत्रकारले सञ्चार रजिष्ट्रार कार्यालयले परिचयपत्र लिएका छन् ।

ऐन र ऐन अन्तर्गत बनेको नियम विपरित कुनै कार्यक्रम प्रसारण गरेमा मन्त्रालयले त्यस्तो प्रसारण संस्थाले प्राप्त गरेको इजाजतपत्र रद्द गर्न सक्ने पूरानो व्यवस्थामा संशोधन गरी आन्तरिक मामिला तथा कानून मन्त्रालय वा कार्यालयले कुनै सञ्चार संस्थाले ऐन, तथा ऐन अन्तरगत बनेको नियम, कार्यविधि,निर्देशिका एवं मापदण्डको पालना भए नभएको सम्बन्धमा नियमन गर्न सक्ने र त्यसरी नियमन गर्दा कानून विपरित कार्य गरेको पाइएमा आवश्यक कार्वाही गर्ने व्यवस्था गरिएको छ ।

सञ्चार रजिष्ट्रारले प्रयोग गरिआएका आर्थिक र प्रशासनिक अधिकार कटौती गर्ने प्रस्तावलाई प्रदेशसभाले अस्वीकृत गरेको छ । सञ्चार रजिष्ट्रारको आर्थिक र प्रशासनिक अधिकार कटौती गरी उपसचिव वा अधिकृतस्तरका कर्मचारीमा हस्तान्तरण गर्ने बिधेयक प्रदेशसभामा पेश भएको थियो । प्रदेश संशोधित ऐनमा सञ्चार रजिष्ट्रार नियुक्ति नभएसम्म वा १५ दिन भन्दा बढी विदामा बसेमा वा पद रिक्त भएको अवस्थामा आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिवले सञ्चार रजिष्ट्रारको रुपमा कामकाज गर्ने व्यवस्था गरिएको छ ।
नयाँ नियुक्त हुने सञ्चार रजिष्ट्रारले आन्तरिक मामिला तथा कानून मन्त्री समक्ष पद तथा गोपनीयताको सपथग्रहण गर्नु पर्ने व्यवस्था संशोधित कानूनमा थपिएको छ । सपथग्रहणको व्यहोरा अनूसूचीमा राखिएको छ ।

‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐनमा रहेका त्रुटी मध्ये केहि सच्चिएका छन् । केहि त्रुटी अझै छन् । संशोधित ऐनमा केहि व्यवस्था नमिलेका देखिन्छन । त्यस्ता नमिलेका बिषयलाई आगामी दिनमा मिलाउादै लैजानु पर्ने हुन्छ’ सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले भने, ‘अभ्यास गर्दै जाने क्रममा ऐन नियम संशोधन गर्दै जानु पर्ने हुन्छ । अभ्यासले नै कानूनलाई परिपक्व बनाउने हो ।’

प्रदेशसभाको साउन ७ गतेको बैठकले नेपालको संविधानको धारा १९९ बमोजिम प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको बिधेयक पारित गरेको थियो । सभामुख सानुकुमार श्रेष्ठले नेपालको संविधानको धारा २०१ बमोजिम प्रमाणिकरण गरेका थिए । सभामुखबाट प्रमाणिकरण भएको सो बिधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख यादवचन्द्र शर्माले साउन ३० गते प्रमाणिकरण गरेका हुन् ।