२०८१ बैशाख २०, बिहीबार    

एमालेले वाग्मतीका साना दललाई सरकारमा सामेल गराउन पहल गर्ने

२०८० फाल्गुन २८, सोमबार १९:०८ बजे

नेकपा एमालेले वाग्मती प्रदेशसभामा रहेका अन्य साना दललाई समेत सरकारमा सहभागी हुन अनुरोध गर्ने भएको छ ।

सोमबार बसेको नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलको वैठकले नयाँ राजनीतिक समीकरणमा सहभागी रहेका दल तथा अन्य साना दलहरुसँग सरकारमा सहभागिताको विषयमा छलफल अगाडि बढाउने निर्णय गरेको हो ।

हेटौंडा–१० स्थित प्रदेशसभा सचिवालयमा बसेको संसदीय दलको वैठकमा सांसदहरुले सरकारमा सहभागी हुने विषयमा राय, सल्लाह र सुझाव राखेका थिए ।

‘अहिले देशमा नयाँ सत्ता समीकरण निर्माण भएको छ । प्रदेशसभाका अन्य दलसँग छलफल गरेर मात्र सरकारमा सहभागी भइहाल्ने वा विश्वासको मत पश्चात् हुने विषय हामी टुंग्याउने छौं’, एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेशमा संघीय सत्तारुढ गठबन्धन अनुसारकै सरकार निर्माण हुने बताए ।

संघीय गठबन्धन अनुसार प्रदेशमा हाल माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकार रहेको छ । केन्द्रीय गठबन्धन अनुसार माओवादी, एमाले र नेकपा एस मिल्दा समेत प्रदेश सरकार गठन हुने अवस्था छैन । सदनमा २ मत रहेको हाम्रो नेपाली पार्टी अहिले निर्णायक देखिएको छ । त्यसकारण सरकारमा साना दललाई समेत सहभागी गराउने विषयमा छलफल अगाडि बढाउन लागिएको हो । ‘हाम्रो नेपाली पार्टी पनि वर्तमान गठबन्धनमै हुनुहुन्छ । उहाँहरु पनि सरकारमा आउनु हुन्छ’, थपलियाले भने ।

११० सदस्यीय प्रदेशसभामा सरकार गठन गर्न ५६ मत आवश्यक पर्छ । प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र नेकपा एसको ७ गरी कुल ५५ मत रहेको छ । अब सरकार गठन गर्न १ मत आवश्यक छ । जसका कारण हाम्रो नेपाली पार्टीको समर्थन सरकारले जोगाइ राख्न कसरत गरिरहेको छ । प्रदेशसमा कांग्रेसको ३७, राप्रपाका १३, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।