२०८१ बैशाख २१, शुक्रबार    

उपप्रमुखको नजर प्रमुखतर्फ

२०७८ चैत्र २०, आईतबार १६:०३ बजे

वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति तोकिएको छ । अहिले स्थानीय तहको जनप्रतिनिधि बन्न स्थानीय तहदेखि केन्द्रीय तहसम्मका नेताहरू आकांक्षी देखिरहेका छन् ।

धेरै नयाँ अनुहारहरू यो निर्वाचनबाट स्थानीय तहको नेतृत्व हाँक्ने दाउमा छन् । तर, २० वर्षपछि २०७४ सालमा भएको निर्वाचनबाट एक कार्यकाल स्थानीय तहको नेतृत्व गरिसकेका जनप्रतिनिधिहरू नै पुनः दोहोरिन चाहेको पनि देखिन्छ । अघिल्लो निर्वाचनमा उपप्रमुखमा निर्वाचित भएका मकवानपुरमा महिला जनप्रतिनिधिहरू आगामी निर्वाचनबाट स्थानीय तहको प्रमुख पदमा दाबी गरिरहेका छन् ।

५ वर्षको कार्यकालमा आफूहरूले प्रशस्त अनुभव बटुलेको र प्रमुख पदमा रहेर स्थानीय तह हा“क्न सक्ने भन्दै उनीहरूले प्रमुख पदमा दाबी गरिरहेका हुन् । हाल मकवानपुरमा रहेको १० वटा पालिकामध्ये एउटा उपमहानगर, एउटा नगरपालिका र ८ वटा गाउँपालिका छ । तीमध्ये ९ वटा पालिकामा महिला उपप्रमुख छन् भने थाहा नगरपालिकामा पुरुष उपप्रमुख रहेका छन् । २०७४ को निर्वाचनमा एमालेले १० वटा स्थानीय तहमध्ये ६ वटामा प्रमुख र ८ स्थानीय तहमा उपप्रमुख पद जितेको थियो ।

एमालेले हेटौंडा उपमहानगरपालिकासहित मनहरी गाउँपालिका, कैलाश गाउँपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, मकवानपुरगढी गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको थियो भने बकैया गाउँपालिका र वाग्मती गाउँपालिकामा उपप्रमुख पद जितेको थियो ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले २–२ वटा स्थानीय तहमा नेतृत्व लिएका थिए । कांग्रेसले राक्सिराङ गाउँपालिकामा पालिका प्रमुख र उपप्रमुखसहित बकैया गाउँपालिकामा प्रमुख पद जितेको थियो । माओवादी केन्द्रले वाग्मती गाउँपालिका र थाहा नगरपालिकामा पालिका प्रमुख पद जितेको थियो ।

जिल्लाको ९ वटै स्थानीय तहका उपप्रमुखले महिला पनि पालिका प्रमुखको जिम्मेवारी लिन सक्षम रहेको बताएका छन् । पार्टीले अवसर दिएको खण्डमा पुरुषसरह जिम्मेवारी लिएर काम गर्न महिला पनि सक्षम रहेको उनीहरूको भनाइ छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मीनाकुमारी लामा, वाग्मती गाउँपालिकाकी धनमाया स्याङ्तान, बकैयाकी सरला बोलखे, मकवानपुरगढीकी हर्कमाया रुम्बा, इन्द्रसरोवरकी उमाकुमारी लामा, कैलाशकी सुकुमाया थिङ, राक्सिराङकी निर्मला हिम्डुङ, मनहरीकी मनिला विष्ट र भीमफेदीकी पार्वती रानाले पालिका उपप्रमुख भएर काम गर्दै आएको अनुभवले पनि आफूहरूले अब प्रमुखको भूमिका पाउनुपर्ने दाबी गरेका हुन् ।