२०८१ बैशाख २२, शनिबार    

हेटौंडा–१४ मा ताम्बा संस्कार तालिम सुरु

२०८० चैत्र २८, बुधबार १८:५७ बजे

हेटौंडा उपमहानगरपालिकाले नगरमा रहेको तामाङ समुदायको संस्कृति जगेर्ना गर्ने उद्देश्यसहित ताम्बा संस्कार तालिम सञ्चालन गरेको छ ।

नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने उद्देश्य अनुरुप सञ्चालन भएको तामाङ समुदायमा ताम्वा संस्कार तालिमको उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । जातिय पहिचानसहित संस्कृति संरक्षणका लागि सञ्चालन गरिएको तालिम तीन दिनसम्म सञ्चालन हुनेछ । तालिममा सहभागीलाई तामाङ समुदायले लगाउने मौलिक पोसाक समेत हस्तान्तरण गरिएको थियो । तालिममा सहभागीले सोही पोसाक लगाएर ताम्बा तथा डम्फु सेलोको प्रशिक्षण लिइरहेको कार्यक्रमका संयोजक ताराबहादुर भोम्जनले जानकारी दिए ।
तालिमको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख लामाले नगर क्षेत्रमा रहेका विभिन्न समुदायको धर्म संस्कृतिको जगेर्ना गर्ने काममा लागेको बताइन् । संस्कृतिको पहिचानले मात्र मानिसलाई चिनाउनेभन्दै उनले पहिचान मेटाउने काममा लाग्न नहुने बताइन् ।

कार्यक्रममा हेटौंडा १४ का अध्यक्ष दीपक खड्काले करिब ८५ प्रतिशत तामाङ समुदायको बसोबास रहेको क्षेत्रबाट संस्कृतिको संरक्षण गर्न जरुरी रहेको बताए । उनले संस्कार मूल्यमान्यता जोगाउँदै विकासको गतिमा अघि बढ्न जरुरी रहेको औंल्याए ।

छोर्वा बोम्बो तथा डम्फु सेलो व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष सार्की मान हिम्दुङ्को अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका समाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, वडासदस्यहरु विनाकुमारी थिङ लामा, श्यामकुमार भोलन, १४ नम्बर वडाका सचिव सीताराम रिमाल, तालिमका प्रशिक्षक मदन थिङको आतिथ्यता रहेको थियो ।