२०८१ बैशाख २४, सोमबार    

विदेश भ्रमणपश्चात् आफ्नो माटोमै रहेर विकास गर्ने सोचमा पुगें

२०७९ बैशाख १८, आईतबार १४:५७ बजे

‘राजनीति पेशा होइन । समाज सेवा हो ।’, भन्ने मूल भावनाका साथ राजनीतिमा होमिएका व्यक्ति हुन्, राजेश बानियाँ । हेटौंडा–५, पिप्लेका स्थायी बासिन्दा रहेका उनी नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर १ (ख) का सभापति हुन् ।

बानियाँ सत्तारुढ गठबन्धनको तर्फबाट वाग्मती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदका उम्मेदवार हुन् । करिब २५ वर्षदेखि विभिन्न संघसंस्थामार्फत् समाजसेवामा सक्रिय उनी अहिले हेटौंडालाई समृद्ध बनाउने संकल्पसहित जनताको घरदैलोमा मत माग्न व्यस्त छन् । २०३६ साल वैशाख २९ गते वुवा वीरेन्द्रबहादुर र आमा नर्वदा बानियाँको सन्तानको रुपमा हेटौंडामा जन्मिएका उनी २०५० सालदेखि कांग्रेसमा रहेर सक्रिय राजनीति गरिरहेका छन् । स्थानीय बालज्योति उच्च माध्यामिक विद्यालयबाट एसएलसी पास गरेका बानियाँले मकवानपुर बहुमुखी क्याम्पसबाट वाणिज्य संकायमा स्नातकसम्मको अध्ययन पूरा गरेका छन् । अमेरिका, क्यानडा युकेजस्ता समृद्धि मुलुकको व्यवसायीक भ्रमणपश्चात् उनले सक्रिय राजनीति गर्ने प्रण गरेका थिए ।

‘विदेश भ्रमणपश्चात् आफ्नो माटोमै रहेर विकास गर्नुपर्छ भन्ने सोच आयो । त्यसपछि मैले सक्रिय राजनीति गर्ने निर्णय लिए । हेटौंडाको समग्र विकास र समृद्धि नै मेरो प्राथमकिता हो ।’, उनले भने, ‘हेटौंडा सुन्दर सहर हो । यसमा रंग भर्न बाँकी छ । हामी विकास मोडल तयार पारेर अझै सुन्दर र समृद्ध बनाउने छौं ।’ लामो समय सामाजिक अभियान्ताको रुपमा सक्रिय बानियाँ २०७४ वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनबाट लोकप्रिय मतसहित हेटौंडा–५ को अध्यक्ष निर्वाचित भएका थिए । जनप्रतिनिधि भएपश्चात् राज्यबाट प्राप्त सम्पूर्ण सेवासुविधा उनले विशेष गरी बालबालिकाको क्षेत्रमा खर्च गरे ।

वडा अध्यक्ष रहँदा ५ बर्षसम्मको सेवा सुविधा उनले शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रमा पनि खर्चे । सेवा सुविधाबाट राज्यबाट प्राप्त मासिक २८ हजार ७ सय १० रुपैयाँ तलबमध्ये बालज्योति उमाविलाई मासिक २० हजार र श्री लक्ष्मी आधारभुत विद्यालयमा ८ हजार ७ सय १० रुपैयाँ गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि बानियाँले उपलब्ध गराउँदै आएका थिए । उनले वार्षिकरुपमा पारिश्रमिकवापत आउने ३ लाख ४४ हजार ५२० रुपैयाँ नियमित ३ वर्ष स्थानीय बालज्योति माविको ३ कोठे भवन निर्माणको लागि उपलब्ध गराएका थिए । विद्यालयले कक्षा कोठा अभाव भएको जानकारी गराएपछि १५ लाख रुपैयाँ खर्चेर भवन निर्माण गरिदिएको बानियाँले बताए । स्वास्थ्य उपचारको लागि सहज होस भन्दै सामुदायिक प्रहरी सेवा केन्द्रलाई उनले एम्बुलेन्स हस्तान्तरण गरे ।

एम्बुलेन्स खरिदको लागि १४ लाख ५० हजार रुपैयाँ खर्चेको उनी बताउँछन् । उनले व्यक्तिगत खर्चमा वडावासीको १ सय २५ भन्दा बढी आर्थिक रुपमा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिएका छन् । ‘हामी निर्वाचित भएको खण्डमा हेटौंडाको १९ वटै वडामा एम्बुलेन्स र विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सुविधा उपलब्ध गराउने छौं ।’, बानियाँले चिकित्सा स्वास्थ्य अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने आफ्नो योजना रहेको बताए । उनले तरुण दल र अन्य भातृ संगठनमा रहेर काम गरेको अनुभव बटुलेका छन् ।

उनी २०६८ सालमा कपडा व्यवसायी संघ मकवानपुर र लायन्स क्लबको संस्थापक अध्यक्षसमेत हुन् । पिप्ले युवा क्लबको अध्यक्षहुँदा उनले पिप्ले क्याम्पा रंगशालाको काम अगाडि बढाएका थिए । ‘पिप्लेक्याम्पा रंगशालाले अहिले एउटा स्वरुप लिएको छ । क्लबको अध्यक्षहुँदा मैदानलाई रंगशालाको रुपमा विकास गर्ने गरी हामीले काम अगाडि बढाएका थियौं ।’, उनले आफू उपमेयरमा निर्वाचित भए प्रत्येक वडामा मिनि रंगशाला र कभर्ड हल निर्माण गर्ने योजना रहेको बताए ।