२०८१ बैशाख १८, मंगलबार    

चौघडामा बाँदरले बालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीय चिन्तित

२०८० फाल्गुन ११, शुक्रबार १७:२२ बजे

हेटौंडा–६, चौघडाको विभिन्न स्थानमा बादर तथा अन्य वन्यजन्तुले बालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीय चिन्तित भएका छन् ।

वर्षभरि गरिएको खेती भित्र्याउने बेलामा बाँदर, बँदेल, दुम्सी तथा मृग पसेर विनास गर्ने क्रम बढेसँगै यस क्षेत्रका स्थानीयले जनवारको नियन्त्रणको माग गरेका हुन् । उनीहरुले जनावरको नियन्त्रण तथा त्यसबाट भएको क्षतिपूर्तिको माग गर्दै शुक्रबार जनप्रतिनिधिको ध्यानाकर्षण समेत गराएका छन् ।

यस वडामा रहेको रानी तथा चुच्चेखोला सामुदायिक वन समूहसँग जोडिएको करिब तीनसय घरधुरीका बासिन्दा वन्यजन्तुबाट पीडित भएका छन् । हेटौंडा–६, न्युरेनी, दिव्यनगर, नवप्रभात, शान्ति, रक्षादेवी र चुच्चेखोला क्षेत्रका स्थानीयले वनजन्तुबाट हुने क्षतिलाई रोक्नका लागि संघर्ष समिति नै बनाएर अगाडि बढ्ने तयारी समेत गरेका छन् ।

स्थानीय नवप्रभा टोल विकास समितिका अध्यक्ष शोभा घिमिरेका अनुसार त्यसक्षेत्रमा उत्पादित सवै अन्नबाली बाँदर र अन्य वन्यजन्तुले नष्ट गरिदिँदा समस्या भइरहेको छ । ‘हामीले रोप्नै छोडिसक्यौं । यसको नियन्त्रण गर्न जरुरी छ ।’, उनले भनिन् ।

स्थानीय मञ्जु अधिकारीले बाँदरका कारण दैनिक समस्या बढिरहेको बताइन् । ‘अन्न खाने मात्रै होइन, फाल्ने, घरभित्रै पसेर हैरान पार्न थाल्यो’, उनले भनिन् ।

डिभिजन वन कार्यालय मकवानपुरका अधिकृत बसन्तराज गौतमले बाँदरको प्रकोप अहिले देशभरै बढिरहेको बताए । ‘यो संरक्षित वन्यजन्तु हो । यसलाई मार्न मिल्दैन । उनीहरुको बासस्थान मास्न भएन । बाँदरलाई खानका लागि बोटविरुवा रोपिदिनु नै समस्याको समाधान हो ।’, उनले भने ।

हेटौंडा–६ का वडाअध्यक्ष विष्णबहादुर दाहालले बाँदरबाट भइरहेको क्षतिन्यूनीकरण गर्न वडा र उपमहानगरले काम गरिरहेको बताए । ‘यसक्षेत्र बाँदरबाट प्रभावित भइरहेको हामीलाई थाहा नै छ । बाँदरले नबिगार्ने बाली रोप्नु नै यसबाछ तत्कालका लागि बच्ने उपयुक्त विकल्प हो । त्यसका लागि उपमहानगरले बजेट विनियोजन गरेको छ ।’, उनले यस विषयमा आफूले माथिल्लो तहमा जानकारी गराएको बताए ।