२०८१ आश्विन २६, शनिबार    

टिष्टुङ पालुङमा खोलामा माछा मार्न नपाइने

२०८१ आश्विन ९, बुधबार १८:४६ बजे

मकवानपुरको थाहा नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका खोलामा माछालगायत जलचर मार्ने कार्यलाई रोक लगाएको छ ।

थाहाले खोलामा करेन्ट लगाएर माछा मार्ने ५ जनाको समूहलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । पालिकाबाट खटिएको नगर प्रहरीले सोमबार माछा मार्ने उक्त समूहको २ वटा बाल्टिन र ५० मिटर विद्युत् जडान गर्ने तारसमेत जफत गरेको छ । उनीहरुलाई कारबाहीसहित ५ हजार रुपैयाँ जरिवाना लगाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए । उनले भने, 'खोलाबाट उनीहरुलाई सोमबार नियन्त्रणमा लिएर मंगलबार नगरपालिकाले दण्ड जरिवानासहित कागज गराएर छाडेको हो,' ।

थाहा नगर प्रहरीको सक्रियतामा नगरपालिकाको वडा नम्बर २ र ३ को सीमानामा पर्ने पालुङ खोलामा माछा मार्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।

माछा मार्ने क्रममा नियन्त्रणमा लिइएकाहरुलाई मंगलबार नगरपालिकामा ल्याई थाहा नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन, २०७६ बमोजिम ५ हजार रुपैयाँ जरिवाना गरिएको हो । नियन्त्रणमा लिइएकाहरुले कानुन कहिल्यै उल्लंघन नगर्ने र नगरपालिकाले चलाएको सकारात्मक अभियानमा सधैं सहयोग गर्ने बताएका छन् ।

उनीहरुले भुलबस गलत काम गरेको स्वीकार्दै यस्तो भूल नगर्ने प्रतिबद्धता जनाएको नगरपालिकाका सूचना अधिकारी सुरज भुजेलले बताए । थाहा नगरपालिकाले विभिन्न खोलामा माछाका भुराहरु छोड्ने काम गरेको छ ।