२०८१ बैशाख १७, सोमबार    

चारजना फलाम चोर पक्राउ

२०७९ कार्तिक ४, शुक्रबार १९:०९ बजे

मकवानपुरको बकैया गाउँपालिका–१२, जितपुरभञ्ज्याङस्थित फास्टट्रयाक निर्माणका लागि राखेको फलामका सामानहरु चोरी गर्ने ४ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति ११ बजेर ५५ मिनेटको समयमा चोरी गरेको १ हजार ३ सय केजी फलामसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी प्रवक्ता टेक बहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा ना ५ ख १४४३ नम्बरको बोलेरो चालक मकवानपुरगढी गाउँपालिका–२ का ३३ वर्षीय इन्द्र बहादुर बिक, बोलेरोमा सवार बकैया–१२, कोलखोपका २२ वर्षीय अविरल घलान, सोही ठाउँका २४ वर्षीय दिनेश लामा बोम्जन र बा ५५ च ८५०२ नम्बरको मोटरसाइकल चालक सोही ठाउँका ३२ वर्षीय नारायण बहादुर मोक्तान रहेका छन् ।

बिहीबार राति फलामको सामानहरु उक्त बोलेरो गाडीमा चोरी गरेर जाँदैछ भन्ने सुचना प्राप्त हुनसाथ अस्थायी प्रहरी पोष्ट जितपुरभञ्ज्याङबाट प्रहरी हवल्दारको कमाण्डमा प्रहरी टोली खटिएको थियो । उक्त बोलेरो गाडीलाई अगाडि बाटो देखाउँदै हिँड्ने मोटसाइकलसहित प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता कार्कीले बताए ।