२०८१ बैशाख १६, आईतबार    

एमालेबाट निर्वाचित पूर्व वडाध्यक्षसहित ३६ जना कांग्रेस प्रवेश

२०७९ कार्तिक २८, सोमबार १५:३७ बजे

नेकपा एमालेको गतिविधिप्रति रुष्ट बन्दै पार्टी परित्याग गरी बसेका नेकपा एमालेबाट मनहरी गाउँपालिका ५ नम्बर वडाका निर्वाचित पूर्व वडाध्यक्ष शुभराज थिङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

एमाले मनहरी गापा सहईन्चार्जसमेत रहेका थिङसहित २०७४ मा निर्वाचित वडा सदस्य एवम् एमाले मनहरी ५ नम्बर वडा कमिटी सोमनाथ रुम्बा पनि कांग्रेसमा प्रवेश गरेकी हुन् । थिङको नेतृत्वमा आइतबार ३६ जना एमालेका कार्यकर्ताले नेपाली कांग्रेसको सदस्यता लिएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ (ख)का प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले उनीहरुलाई नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका हुन् ।

एमालेबाट कांग्रेसमा प्रवेश गरेका शुभराज थिङलाई आजै नेपाली कांग्रेस जिल्ला सदस्यमा मनोनितसमेत गरिएको छ । कार्यक्रममा सहभागी पार्टी मकवानपुर सभापति बुद्ध लामाले थिङलाई पार्टीको जिल्ला सदस्यमा मनोनयन गरिएको जानकारी गराए । लोकतान्त्रिक बाम गठबन्धनको शनिबार मनहरी ५ को बसन्तपुर र डिल्लीपुरमा आयोजित कोणसभाकाबीच एमाले नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए ।

चुनाव प्रचारप्रसार समिति मनहरी ५ संयोजक गोविन्दप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजाराम स्याङतान, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नवप्रवेशी मनोनित जिल्ला सदस्य शुभराज थिङ, नेकपा माओवादी केन्द्र मनहरी अध्यक्ष रामप्रसाद कालाखेती, कांग्रेस मनहरी ५ का सभापति विष्णुप्रसाद उप्रेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

उम्मेदवार बानियाँले आइतबार नै वसन्तपुर डिल्लीपुर क्षेत्रका मतदाताहरु माझ मत माग्दै घरदैलासमेत गरेका थिए ।