२०७९ आश्विन १८, मंगलबार    

डा. रुइतलाई हात जोडेर धन्यवाद दिँदै भनिन्, ‘तपाईं त भगवान् हुनुहुँदो रहेछ :च्योमाया चेपाङ

२०७९ भाद्र ३०, बिहीबार १३:५७ बजे

मकवानपुरको राक्सिराङ गाउँपालिका–५ लाईराङकी ५५ वर्षीया च्योमाया चेपाङले दुवै आँखाले देख्न छाडेको दुई वर्ष भयो । घर भित्र–बाहिर गर्न पनि सहारा चाहिन्थ्यो । आफ्नो सहारा श्रीमान्को पनि ११ महिनाअघि मृत्यु भयो । उनको साथमा अहिले १५ वर्षीया छोरी छन् ।

 

छोरीले उनलाई घर भित्र–बाहिर गराउनेदेखि छिमेकीको काम गरेर वा मागेर ल्याएर दैनिक भोक टार्दै आएकी छन् । यस्तो पीडादायी जिन्दगी बाँच्नुभन्दा मर्नु वेश ठानेर उनी गत जेठमा घरनजिकैको खोलामा हेलिइन् । तर, बटुवाहरूले देखेर उनको सकुशल उद्धार भयो ।

‘दुवै आँखा नदेख्ने भएपछि के गरेर बाँच्नु भनेर मर्न खोजेको त्यति बेला मर्न पाइएन,’ बुधबार शल्यक्रियापछि दुवै आँखाको ज्योति फर्किएपछि च्योमायाले भनिन्, ‘अब त दुवै आँखा देख्ने भइयो, यसरी फेरि हेर्न सकिएला भन्ने लागेकै थिएन, यो मेरो जिन्दगीकै सबैभन्दा खुसीको दिन हो । अब त ज्यालावनी गरेर पनि जीवन धान्छु ।’

 

च्योमायाको मंगलबार वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतको टोलीले शल्यक्रिया गरेको हो । बुधबार दुवै आँखाको पट्टी खोलेपछि डा. रुइतलाई हात जोडेर धन्यवाद दिँदै भनिन्, ‘तपाईं त भगवान् हुनुहुँदो रहेछ डा. साप ।’ डा. रुइतका अनुसार च्योमायाको दुवै आँखा मोतियाविन्दुले ढाकेको थियो । पालैपालो शल्यक्रिया गर्ने गरिए पनि च्योमायाको हकमा भने एकै पटक दुवै आँखाको शल्यक्रिया गरिएको हो । जसको व्यवस्था मिलाएको थियो हेटौंडा सामुदायिक आँखा अस्पतालले ।

यसअघि अस्पतालले लाईराङमै निःशुल्क आँखा शिविर राखेको थियो । त्यही शिविरमा उनको रोग पत्ता लागेको थियो । शल्यक्रिया गर्नुपर्ने भएपछि उनलाई हेटौंडा ल्याइएको हो । शिविरमा आँखाको शल्यक्रिया गर्नुपर्ने पहिचान भएकालाई अस्पतालले हेटौंडामा ल्याएर निःशुल्क सेवा दिँदै आएको छ ।

शल्यक्रियाका क्रममा बिरामी र एक सहयोगीलाई अस्पतालमै खाने–बस्ने र उपचारपछि घर पुर्‍याइदिने सुविधा पनि अस्पतालले नै दिन्छ । सोहीअनुसार मकवानपुर, बारा, सिन्धुली, रौतहट र पर्साका ग्रामीण बस्तीमा सञ्चालित शिविरमा मोतीबिन्दु पहिचान भएकाको मंगलबारबाट अस्पतालमा शल्यक्रिया थालिएको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधीरभद्र श्रेष्ठले बताए ।

‘विभिन्न शिविरहरूमा च्योमायाजस्ता साढे ३ सय जतिमा मोतीबिन्दु भएको भेटिएको थियो, उनीहरूको अहिले शल्यक्रिया भइरहेको हो,’ उनले भने, ‘डा. रुइतको टोलीले मंगलबार बिहानैदेखि सेवा दिइरहेको छ । बिहीबार अपराह्नसम्म सबै शल्यक्रिया सकिने अनुमान छ ।’

हेटौंडा उपमहानगरपालिका–१० टीसीएनमा रहेको यो अस्पतालले अहिले दिनहुँजसो ३ सय जति आँखाका बिरामीलाई सेवा दिइरहेको छ । १४ वर्षअघि नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको शाखाको रूपमा हेटौंडामा यो अस्पतालको स्थापना गरिएको थियो । त्यसयता वार्षिक ५० हजारभन्दा बढीको आँखा परीक्षण गर्ने गरेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार हालसम्म ८ लाख १२ हजार जनाको आँखा परीक्षण भइसकेको छ भने ४४ हजार ३ सय ४८ जनाको आँखाको शल्यक्रिया गरिएको छ । त्यसमध्ये पनि सबैभन्दा बढी ३६ हजार १ सय ३० जनाको मोतीबिन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । ‘बर्सेनि मोतीबिन्दुको शल्यक्रिया गराउनेको संख्या ३ हजार जति हुन्छ,’ श्रेष्ठले भने, ‘उपचारका लागि भारतीय नागरिकसमेत आउने गरेका छन् ।’ अस्पतालमा ३ नेत्ररोग विशेषज्ञसहित ४० स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत छन् । दर्ता शुल्कबाहेक अन्य रकम अस्पतालले लिँदैन ।