२०८१ माघ २८, सोमबार    

सामुदायिक आँखा अस्पताल १७ औं वर्षमा

२०८१ मंसिर ५, बुधबार १८:४९ बजे

हेटौंडा सामुदायिक आँखा अस्पताल १७ औं वर्षमा प्रवेश गरेको छ । अस्पतालको सेवा प्रारम्भ भएको १६ वर्ष पूरा गरी १७ औं वर्षमा प्रवेश गरेको हो । २०६५ मंसिर ५ गते अष्ट्रेलियन राजदुत ग्राहम लेडले सामुदायिक आँखा अस्पतालको उद्घाटन गरेका थिए ।

नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको पहिलो शाखाको रुपमा हेटौंडा सामुदायिक आँखा अस्पताल स्थापना भएको हो । हेटौंडा पश्चात भक्तपुर र निजगढमा पनि अस्पताल स्थापना गरिएको थियो ।

स्थापनाकालदेखि हालसम्म अस्पतालमा ८ लाख ९३ हजार जनाले आँखा जाँच गरिसकेका छन् । ६० हजार मोतिविन्दुका बिरामीको शल्यक्रिया भएको छ । बिभिन्न क्षेत्रमा निशुल्क आँखा शिविर संचालन गरेर २२ हजार जनाको निःशुल्क शल्यक्रिया गरिएको छ ।

अस्प्तालमा आँखा जाँच, चश्मा जाँच, शल्यक्रिया सेवा, औषधि सेवा प्रदान गरिँदै आएको छ । यसका साथै आँखा स्वास्थ्य सम्बन्धि जनचेतना प्रदान गर्न बिभिन्न समयमा शिक्षक, स्वास्थ्य कार्यकर्ता, महिला स्वास्थ्य स्वयम्सेविका, कारखानाका कामदार लगायत विभिन्न समूहलाई तालिम गोष्ठी आयोजना गर्दै आएको छ । अस्पतालसम्म पुगेर आँखा उपचार सेवा लिन नसकेकाहरुलाई ग्रामीण क्षेत्रमा नै पुगेर निःशुल्क आँखा शिविर पनि आयोजना गर्दै आएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले थाहा नगरपालिका, मनहरी गाँउपालिका र बागमती गाँउपालिकासंग समन्वय गरेर सामुदायिक आँखा केन्द्र सञ्चालन गरेको छ । यस्तै ईन्द्रसरोवर गाँउपालिका, कैलाश गाँउपालिका र बकैया गाँउपालिकासंगको सहकार्यमा ग्रामीण आँखा केन्द्र पनि सञ्चालन गरेर त्यस भेगका जनतालाई आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताइएको छ ।

राक्सिराङ, भीमफेदी र मकवानपुरगढी गाउँपालिकासंग पनि ग्रामीण आँखा केन्द्र स्थापनको लागि छलफल भैरहेको जानकारी दिइएको छ । आगामी दिनमा नयाँ शल्यक्रिया भवन निर्माण गरी सेवा प्रदान गर्नुका साथै न्यून दृष्टि भएका बालबालिकाहरुको लागि पनि छुट्टै सेवा प्रदान गर्ने योजना रहेको अस्पतालले जनाएको छ ।