२०८१ बैशाख ७, शुक्रबार    

एन्टी हेमोफिलियक फ्याक्टर हस्तान्तरण

२०७९ श्रावण २२, आईतबार १६:३७ बजे

वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका हेमोफिलियाका विरामीहरुका लागि एन्टी हेमोफिलियक फ्याक्टर हस्तान्तरण गरेको छ ।

मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको आयोजनामा भएको एक कार्यक्रममा स्वास्थ्य मन्त्री निमा लामाले हेमोफिलिया सोसाइटी नेपालका अध्यक्ष मुकुन्दमणि घिमिरेलाई हेमोफिलियक फ्याक्टर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री लामाले बागमती प्रदेश सरकारबाट प्राप्त सहयोगको औषधी होमोफिलियाका बिरामीका लागि सर्वसुलभ रुपमा उपलव्ध गराउन हेमोफिलिया सोसाइटीलाई आग्रह गरे । 

उनले प्रदेश सरकार यस्तै खाले अन्य रोगका विरामीहरुको लागि औषधी र उपचारको व्यवस्था गर्न प्रतिवद्ध रहेको बताए । उनले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले औषधी एवं उपकरण र औषधी खरिदका लागि बजेट विनियोजन गरिसकेकाले खरिद प्रकृया अघि बढेको बताए ।

आपूर्ति केन्द्रबाट सोसाइटीलाई ११ सय ३० भाइल औषधी उपलव्ध गराएको आपूर्ति केन्द्रका प्रमुख डा. अर्जुन सापकोटाले जानकारी दिए । हस्तान्तरण गरेको औषधीको मूल्य करिब एक करोड रुपैंया रहेको जनाईएको छ । देशभर हेमोफिलियाका ७ सय ८० र बागमती प्रदेशमा २० महिलासहित २ सय ५० जना विरामी रहेको जनाईएको छ । औषधी अभावमा गत बर्ष ४ जनाको मृत्यु भएको सोसाइटीले जनाएको छ ।

कार्यक्रममा स्वास्थ्य आपूर्ति केन्द्रका बरिष्ठ जनस्वास्थ्य निर्देशक शम्भु काफ्ले, सोसाइटीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।