२०८१ बैशाख २४, सोमबार    

असार पहिलो साता हेटौंडा राष्ट्रपति रनिङ शिल्ड

२०७९ जेठ ३१, मंगलबार १९:०० बजे

असार पहिलो साता हेटौंडा उपमहानगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड वृहत् खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा आधुनिक राष्ट्रिय माविको आयोजनामा असार ११ र १२ गते प्रतियोगिता हुन लागेको हो । हेटौंडा–४ स्थित हुप्रचौरमा हुने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी खेल सञ्चालन गरिनेछ ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामाको अध्यक्षतामा मंगलबार बसेको वैठकले यस्तो निर्णय गरेको हो । वैठकमा उपमेयर राजेश बानियाँ, जिल्ला खेलकुद विकास समिति तथा नगर खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रत्येक वर्ष स्थानीय तहले आफूअनुकुल समयमा यस प्रतियोगिता सञ्चालन गर्ने गरेको छ । यस प्रतियोगिताबाट छनौट भएका खेलाडीले जिल्लास्तरमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि आधुनिकका शिक्षक राजाराम पोखरेलको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ । प्रतियोगिताका मूल समारोह समितिका संयोजक मेयर लामा रहने व्यवस्था छ ।