२०८३ बैशाख ७, सोमबार    

हेटौंडामा रोटरी कप फुटबल प्रतियोगिता हुने

२०८१ श्रावण ३०, बुधबार २०:४७ बजे

रोटरी क्लव अफ मकवानपुरले यही भदौ २४ गतेबाट तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हेटौंडामा हुने भएको छ ।

रोटरीले निर्माण गर्न लागेको जलन प्राथमिक उपचार केन्द्रका लागि सहयोग जुटाउने उद्देश्यका साथ राष्ट्रिय भेट्रान्स फुटबलको आयोजना गर्न लागेको हो । ४० वर्षदेखि माथि उमेर समूहका खेलाडीहरुले सहभागिता जनाउन पाउने प्रतियोगिता ११ ए साइड हुनेछ । यसअघि २०७२ र ०७३ सालमा खेल आयोजना गरेको रोटरीले लामो समयपछि फेरि प्रतियोगितालाई
निरन्तरता दिन लागेको हो ।

भदौ ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकले १० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने

रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष अनिल अग्रवालले जानकारी दिए । हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगिताको तयारीलाई तीव्र पारिएको प्रतियोगिता संयोजक मोहन ढकालले बताए ।

रोटरी क्लव अफ मकवानपुरको आयोजनामा हुने प्रतियोगितामा पिप्ले युवा क्लव सहआयोजक र रोट¥याक्ट क्लव अफ मकवानपुरको सहकार्य रहनेछ । प्रतियोगीताका लागि करिब १६ लाख १८ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको आयोजकको भनाई छ ।

प्रतियोगितामा देशको विभिन्न स्थानका १६ क्लवले सहभागिता रहने बताइएको छ ।