हेटौंडामा शुक्रबारदेखि सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
हेटौंडा–६, स्थित गौरीटार रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटनमा एन्फा मकवानपुरले छिमेकी जिल्ला चितवनसँग पहिलो खेल खेल्नेछ । छैटौं संस्करणसम्म पुरुष गोल्डकप प्रतियोगिताको आयोजना गर्दै आएको फुटबल संघ मकवानपुरले यस वर्ष महिला गोल्डकपको आयोजना गरेको हो ।
प्रतियोगितामा दुई विभागीय टोली, एउटा ए डिभिजन टोली र पाँच जिल्ला गरी आठ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफसहित संकटा क्लब तथा मकवानपुर, चितवन, सर्लाही, रौतहट र बारा जिल्लाको सहभागिता रहने भएको छ । यसअघि त्रिभुवन आर्मीको सहभागिता रहने भनिएपनि अन्तिम समयमा नाम फिर्ता लिएपछि संकटा खेलमा सहभागी हुने भएको हो ।
महिला खेलाडीहरुले पछिल्लो समय उत्कृष्ट नतिजा प्रस्तुत गर्दै आएकोले उनीहरुलाई प्रोत्साहन गर्न मकवानपुरमा पहिलो पटक महिला फुटबल प्रतियोगिता आयोजना गरिएको जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले जानकारी दिए । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
विधागत उत्कृष्टलाई समेत नगदसहित ट्रफीको व्यवस्था गरिएको छ । हरेक खेलको म्यान अफ दि म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि करिब ६१ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।