२०८१ बैशाख २८, शुक्रबार    

फुटबलमा उडान भर्दै मकवानपुरे अञ्जन र सुनिल

२०७८ माघ ६, बिहीबार १२:५१ बजे

हेटौंडा/ देशकै सवैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता शहीद स्मारक ए डिभिजन लिग केही समयका लागि ब्रेक भएको छ । लिग अन्त्य र रोमाञ्चक मोडमा पुगिरहँदा साविकको विजेता मच्छिन्द्र र मनाङ मस्र्याङ्दी क्लबमध्ये कुन क्लब च्याम्पियन हुन्छ भन्न सकिने अवस्था छैन ।

यसवर्षको लिगमा मकवानपुरका दुई खेलाडीले सनसनीपूर्ण खेल प्रस्तुत गरिरहेका छन् । मनाङका कप्तान समेत रहेका हेटौंडेली खेलाडी अञ्जन विष्ट र यसैवर्ष च्यासलबाट मच्छिन्द्र आएका सुनिल बलको प्रदर्शन अहिले लिगमा सवैभन्दा उम्दा रहेको छ । उनीहरु दुवैले व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन र आवश्यक पर्दा टोलीका लागि गोल पनि गरिरहेका छन् । अञ्जन र सुनिलका कारण अहिले दुवै टोली उपाधि नजिक पुगेको छ । दुवै टोली अहिले लिग तालिकाको शीर्ष दुईमा छन् ।

लिगमा आफ्नो टोलीका लागि लगातार रुपमा उत्कृष्ट गोल गर्दै गोलका लागि अवसर समेत सिर्जना गरिदिँदा अञ्जन र सुनिललाई नेपाली फुटबलको उदियमान खेलाडी र मेरुदण्डको रुपमा विभिन्न क्लबका प्रशिक्षक तथा खेलाडीहरुले चित्रण गर्न थालेका छन् । विशेष गरी पोखरेली दर्शकमाझ अञ्जनले गरेको प्रदर्शन र सुनिल बलले लगतार विपक्षी टोलीविरुद्ध गरेको आकर्षक गोलका कारण उनीहरुको प्रशंसा सर्वत्र भइरहेको हो ।

पछिल्लो समय नियमितरुपमा राष्ट्रिय टोलीमा समावेश भइरहेका दुवै जना मकवानपुरे माटोबाट उत्पादित भएका खेलाडी हुन् । उनीहरु दुवै आफ्नो मेहेनत र परिश्रमका कारण यो स्थानसम्म आइपुगेका मकवानपुरका फुटबल प्रशिक्षक विजयलाल श्रेष्ठ बताउँछन् ।

लिगमा विदेशी खेलाडीहरु हावी भइरहेको समयमा अञ्जन र सुनिलले गरेको प्रदर्शनका कारण नेपाली खेलाडी पनि उत्कृष्ट छन् भन्ने सन्देश प्रवाह भइरहेको हो । नेपालले युथ–१६ साग फुटबल प्रतियोगिता च्याम्पियन भएसँगै दुवै खेलाडीले युथ–२३ हुँदै सिनियर राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेका थिए । जारी लिगमा उनीहरु दुवै सर्वाधिक गोलकर्ताको सूचीमा अग्रस्थानमा रहेका छन् ।

मकवानपुरबाट दुई दर्जनभन्दा बढी खेलाडी ए डिभिजन क्बलमा आबद्ध भएका छन् । सशस्त्र प्रहरीको एपीएफमा आबद्ध भएका हेटौंडाका विके लामाको खेल भने जारी लिगमा सम्झनलगायक छ । जिल्लाका चर्चित खेलाडी अमिर श्रेष्ठ र अशोक बरालको प्रदर्शन यस लिगमा औषत छ । अन्य खेलाडीले भने खासै मौका प्राप्त गरेका छैनन् । मकवानपुरका केही खेलाडी बेञ्च तताएर लिगका खेलहरु कटाइरहेका छन् ।