२०८३ बैशाख ५, शनिबार    

मकवानपुरे घिमिरे पोखरा थन्डर्सको मुख्य प्रशिक्षक

२०८१ फाल्गुन १३, मंगलबार ११:१७ बजे

आगामी चैत्र १६ गतेबाट सुरु हुन लागेको तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा सहभागिता जनाउँदै गरेको पोखरा थन्डर्स एफसीको प्रशिक्षकमा मकवानपुरका सुविन घिमिरेले जिम्मेवारी पाएका छन् ।

शनिबार काठमाडौंमा भएको अक्सन (खेलाडी छनौट)मा उनी पोखरा थन्डर्सको प्रतिनिधित्व गर्दै सहभागी थिए । ‘प्रशिक्षणको जिम्मेवारीमा रहेर काम गर्नेछु । तेस्रो संस्करणको एनएसएलमा पोखरा थन्डर्ससँग आबद्ध हुन पाउँदा खुसी लागेको छ’, घिमिरेले भने । मकवानपुरका विभिन्न क्लवलाई मोफसलका गोल्डकपमा उपाधि जिताइसकेका उनी बी लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । एनएसएलमा प्रशिक्षकको रुपमा काम गर्ने उनी पहिलो व्यक्ति हुन् । एनएसएलका लागि पोखराको टिम सन्तुलित बनेको उनले प्रतिक्रिया दिए । ‘प्रायः सबै टिम विदेशी खेलाडीकै भरपर्ने अवस्था देखिएको छ । अक्सनबाट हामीले सकेसम्म राम्रा खेलाडीहरुलाई लिएका छौं’, घिमिरेले भने ।

पोखराको मुख्य प्रशिक्षक भने सुमन श्रेष्ठ रहेका छन् । पोखरा थन्डर्सले नेपालगञ्जमा ‘क्लोज क्याम्प’ गर्ने तयारी गरेको छ । पूर्व ए डिभिजन खेलाडी समेत रहेका घिमिरे मकवानपुर जिल्ला फुटबल संघका पूर्व उपाध्यक्ष समेत हुन् । नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइए) को आयोजनामा हुन लागेको सुपर लिगमा यसपटक पोखरा थन्डर्ससहित ललितपुर सिटी, झापा एफसी, एफसी चितवन, काठमाडौं रेजर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरी ७ टोलीले सहभागिता जनाउँदैछन् ।