२०८० चैत्र १६, शुक्रबार    

वाग्मती प्रदेशमा नीति तथा कार्यक्रम पेश: शिक्षा र स्वास्थ्य प्राथमिकतामा

२०७९ जेठ १६, सोमबार १६:४१ बजे

वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेको छ । शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर महत्वकांक्षी कार्यक्रमसहित वाग्मती प्रदेश प्रमुख यादबचन्द्र शर्माले सदनमा नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेका हुन् ।

वाग्मती प्रदेशलाई शिक्षाको हबको रुपमा विकास गर्दै लैजाने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश प्रमुख शर्माले प्रदेशभित्रका बाल विकास केन्द्रलाई स्थानीय तह संघको सहकार्यमा नमूना केन्द्रको रुपमा स्तरोन्नती गर्ने, दलित, अपाङ्ग, सीमान्तकृत एवम् विपन्न विद्यार्थीलाई विद्यालय शिक्षामा पहुँच वृद्धि गरिने बताए । ‘कोही पनि बालबालिका शिक्षाको पहुँचबाट बञ्चित हुन नपारोस्’ भन्ने योजना अघि सारिएको उनले बताए ।

विद्यालयको भौतिक सुधार गरी आधुनिक पाठ्य सामग्री तयार पारी प्रत्येक जिल्लाको कम्तिमा एक विद्यालयमा नमूना बाल बिकास केन्द्र सञ्चालन गरिने उनले बताए । गुरु योजना स्वीकृत भएका आवासीय विद्यालयकाहरुको भौतिक विकास गर्नुको साथै नमूना विद्यालयमा विकास गुरुयोजना कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सामूदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि सूचना प्रविधि प्रयोगशाला, विज्ञान तथा विषयगत प्रयोगशालाहरु स्थापना गरिने प्रदेश प्रमुख शर्माले बताए ।

प्रदेश सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई निरन्तरता दिने बताइएको छ । प्रदेशभित्रका माध्यमिक तहका विद्यालयहरुमा उक्त कार्यक्रमलाई निरन्तरता दिने घोषणा नीति तथा कार्यक्रम मार्फत् गरिएको छ । उच्च शिक्षा पढ्नका लागि ‘छोरी–बुहारीलाई छात्रवृत्ति’ कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

‘जनता स्वास्थ्य कार्यक्रम’अन्तर्गत् विपन्न नागरिकलाई क्यान्सर, हृदयघात, मस्तिष्कघात र अप्स्टेट्रिक फिष्टुलालगायतका रोगको उपचारमा दिइँदै आएको सहुलियत व्यवस्थालाई थप प्रभावकारी बनाइने बताइएको छ । ‘मृगौला रोगीका लागि सञ्चालित नि:शुल्क डायलासिस सेवा प्रदेश मातहतका सबै अस्पतालहरूमा विस्तार गरिनेछ ।’, नीति तथा कार्यक्रममा भनिएको छ,‘हेटौंडा अस्पताललाई दुई सय बेडको अस्पतालमा स्तरोन्नती गरी धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरसँगको सहकार्यमा मृगौला प्रत्यारोपण सेवा समेत विस्तार गरिनेछ ।’

सरकारले प्रदेश सञ्चार प्राधिकरण स्थापना गर्ने भएको छ । प्रदेश प्रमुख शर्माले प्रदेशभित्र संचालनमा रहेका संचार गृहहरूको व्यवस्थित संचालन र विकास विस्तारका लागि प्राधिकरण स्थापना गर्ने बताए । त्यस्तै, प्रदेश भित्र संचालित संचार गृहलाई प्रदेशमा नै दर्ता नवीकरण गर्न प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने उनले बताए ।

प्रदेश सरकारले ‘एक वडा, एक पशु सेवा कार्यालय’ को स्थापन गर्ने भएको छ । पशु वीमालाई प्रभावकारी बनाउने र संघ तथा स्थानीय तहको समन्वयमा ‘एक वडा, एक पशु सेवा कार्यालय’ को स्थापना गरिने उनले बताए । प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने र रंगशाला निर्माण गर्ने योजना अघि बढाएको उनले बताए ।