२०८१ बैशाख ८, शनिबार    

व्यवसायीको समस्या समाधान गर्न मेरो उम्मेदवारी : कृष्ण कटुवाल

२०७९ चैत्र २२, बुधबार १४:४९ बजे

नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रीय सदस्यका उम्मेदवार कृष्ण कटुवालले चर्को व्याजदरका कारण व्यवसायीमा परेको समस्या समाधान गर्न राज्यको ध्यानाकर्षण गराउन जरुरी रहेको औंल्याएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको चैत २८ र २९ गते काठमाडौंमा हुने ५७ औं वार्षिक साधारण सभा तथा निर्वाचनको सन्दर्भमा हेडम्बा न्यूजसँग कुराकानी गर्दै उनले देशमा विग्रदो आर्थिक अवस्था सुधार्न र व्यवसायीको समस्या राज्य तहबाटै सम्बोधन गर्ने वातावरण तयार पार्न आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका छन् ।

उनी मकवानपुर उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष समेत हुन् । वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ समूहबाट जिल्ला नगरतर्फ केन्द्रीय सदस्य पदका उम्मेदवार बनेको कटुवालले आफ्नो जीत सुनिश्चित भएको दावी गरेका छन् । २०६४ सालमा मकवानपुरको कार्यसमिति सदस्य बनेका कटुवाल २०७४–०७८ सम्म अध्यक्षको जिम्मेवारी कुशलातापूर्वक निर्वाह गरेका थिए ।

‘उद्योगी व्यवसायीले वर्षेनी करको समस्या भोगिरहेका छन् । हामीले त्यसलाई सम्बोधन गर्ने घोषणा पत्रमै उल्लेख गरेका छौं ।’, कटुवालले उद्योगी व्यवसायीको मर्यादाक्रम राज्यले नै तोक्न जरुरी रहेको औंल्याए । ‘राज्यको कुनै फनि निकायमा हाम्रो मर्यादाक्रम छैन । व्यवसायीले तिर्ने करबाटै देश चलिरहेको छ । त्यसकारण हामी मर्यादात्रम निर्माण गर्न दबाब दिने हाम्रो समूहको अर्को ऐजेण्डा हो ।’, उनले भने ।

उनीसँगै जिल्ला नगर सदस्यतर्फ ३२ जनाको उम्मेदवारी परेको छ । जसमध्ये १८ जना चयन हुनेछन् । कुल ११८ मत दाता यस समूहमा रहेका छन् ।