२०८१ बैशाख १५, शनिबार    

टाइब्रेकरमा एपीएफद्वारा मच्छिन्द्र पराजित

२०८० माघ १८, बिहीबार १८:२७ बजे

सशस्त्र प्रहरी (एपीएफ) क्लब हेटौंडामा जारी छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०८० को अन्तिम आठमा स्थान बनाउन सफल भएको छ ।

गोलरक्षक एञ्जल श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेपछि ए डिभिजन टोली मच्छिन्द्रलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै एपीएफ विजयी भएको हो । एपीएफका गोलरक्षक श्रेष्ठले टाइब्रेकरमा दुईवटा प्रहार बचावट गरेका थिए । उनी खेलको म्यान अफ दी म्याच समेत घोषित भए । उनले नगद दशहजार रुपैयाँ प्राप्त गरे ।

निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको नतीजाका लागि सोझै टाइब्रेकरको सहारा लिइएको थियो । टाइब्रेकरमा एपीएफको तर्फबाट विदेशी खेलाडी एनिसेट, फोडे फोफना, कुलदिप कार्की र दीपेश धिमालले गोल गरेका थिए ।

मच्छिन्द्रको तर्फबाट विमल घर्तिमगर, झिजोबा क्रिस्पटिफोर र सौरव लिम्बुले गोल गरेका थिए । मच्छिन्द्रका सनिस श्रेष्ठ र करिमको प्रहार एपीएफका गोलरक्षकले बचाउ गरेका थिए ।

खेलमा अग्रता एपीएफले नै लिएको थियो । उसका लागि विदेशी खेलाडी एनिसेटले गोल गरेका थिए । उनले कुलदिप कार्कीको पासमा हेडमार्फत् ३९ औं मिनेटमा गोल गरेका हुन् । खेलमा अग्रता लिएपनि स्टार खेलाडीले भरिएको मच्छिन्द्रले एपीएफलाई दबाबमै राखेको थियो । खेलको ७२ औं मिनेटमा मच्छिन्द्रका लागि नेपालका चर्चित स्ट्राइकर विमल घर्तिमगरले हेडमार्फत् गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । उनले सौरवले लिम्बको क्रसलाई सदुपयोग गरेका थिए । एपीएफले दोस्रो चरणमा थ्रीस्टारको सामाना गर्नेछ ।

हेटौंडा–६, गौरिटारमा जारी प्रतियोगिताअन्तर्गत् शुक्रबार नेपाल पुलिस क्लब र धनकुटाको राजारानी फुटबल क्लबवीच प्रतिस्पर्धा हुनेछ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा प्रतियोगिता सञ्चालन भइरहेको हो ।