२०८१ बैशाख १७, सोमबार    

पेट्रोलियम ढुवानी ठप्प पार्ने व्यवसायीको चेतावनी

२०७८ चैत्र १४, सोमबार १६:४२ बजे

नारायणी पेट्रोलियम विक्रेता संघका अध्यक्ष उत्सव इटेनीले पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले उठान गरेको माग सम्बोधन नभए पेट्रोलियम पदार्थ लोड अनलोड ठप्प पार्ने चेतावनी दिएका छन् ।

सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाँउदै उनले चैत्र १७ गतेसम्म पनि माग पूरा नभए लोड अनलोड ठप्प पारिने चेतावनी दिएका हुन् । पेट्रोलियम व्यवसायी संस्थागत समन्वय समितिले फागुन २३ गते नेपाल आयल निगमलाई विभिन्न ६ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको थियो । ‘१७ गतेसम्म माग पूरा नभए नेपाल आयल निगम प्रादेशिक कार्यालय अमलेखगञ्ज बारा डिपोबाट पेट्रोलियम पदार्थ लोड अनलोड ठप्प पार्नेछौं’, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई बुझाएको पत्रमा भनिएको छ, ‘आन्दोलनबाट उपभोक्तालाई पर्न जाने असुविधाप्रति नेपाल आयल निगम नै जिम्मेवार हुनेछ ।’

आन्दोलनलाई सफल बनाउन भन्दै फागुन २३ गते नै नारायणी पेट्रोलियम विक्रेता संघका अध्यक्ष इटेनीको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति गठन भैसकेको छ । पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले नेपालमा पेट्रोलियम ऐन बनाएर लागू गर्नुपर्ने, निगमको एलपीजी विनियमावली, विक्रेता विनियमावली तथा ढुवानी सम्बन्धि व्यवसायी संस्थाको प्रतिनिधि सहितको सहभागितामा परिमार्जनसहित संशोधन गर्नुपर्ने, नेपाल सरकारले यातायात क्षेत्रमा लागू गरेको वैज्ञानिक भाडादर अनुसार पेट्रोलियम ढुवानी साधनमा समेत ढुवानी भाडा लागू गर्न अध्ययन समितिको प्रतिवेदन अनुसारको भाडा यथाशिघ्र लागू गर्नुपर्ने लगायत ६ बुँदे माग राखिएको छ ।