२०८१ जेठ ५, शनिबार    

प्यानल बनाउन जयराम अगाडि, संस्थापनमा सकस

२०७८ फाल्गुन १४, शनिबार १९:१७ बजे

हेटौंडा/ नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन सुरु हुन केही घण्टामात्र बाँकी रहेको छ । अधिवेशन कार्यतालिका अनुसार आइतबार उम्मेदवारी दर्ता र सोमबार मतदान हुनेछ ।

उम्मेदवारी दर्ता गर्ने समय नजिकिँदै गर्दा समेत संस्थापन पक्षधरले आफ्नो समूह सार्वजनिक गर्न सकेको छैन । हाल संस्थापन पक्षबाट दुईजनाले उम्मेदवारी घोषणा गरेका छन् भने इतर समूहबाट एकजनाले । संस्थापन पक्षबाट सचिव बुद्ध लामा र पूर्वसचिव आनन्दराम पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् । तर, दुवै पक्षले आफ्नो समूहका पदाधिकारी तथा सदस्यको उम्मेदवार सार्वजनिक गर्न सकेको छैन ।

संस्थापन इतर समूहको उम्मेदवार जयराम लाछिानेले भने पदाधिकारीसहित सदस्यको नामावली समेत टुंग्याउने कसरतमा जुटेका छन् । हाल संस्थापन पक्षमा समूह घोषणा गर्ने विषय सकस पूर्ण बनेको छ । संस्थापनमा पदका आकांक्षी धेरै रहेको, संस्थापन पक्ष दुईभागमा विभाजन भएको अवस्थामा कसरी अगाडि बढ्ने भनेर समस्या सिर्जना भइरहेको छ । समूह निर्माण गर्ने विषयलाई सहजरुपमा अवतरण नहुने देखिएको छ ।

‘संस्थापनमा दुईजना सभापति हुने वित्तिकै को बलियो त्यहीबाट उम्मेदवार बन्ने दौड सुरु भइसकेको छ । जसको कारणले समस्या भइरहेको छ । दुवै सभापतिका उम्मेदवारलाई प्यानल बनाउन फलामका चिउरा खानु सरह भएको छ ।’, कांग्रेस मकवानपुरका एक नेताले भने ।

लामिछाने समूहबाट उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने, सचिवमा भीमसेन महत, इश्वर पाठक, सहसचिवमा इन्दिरा न्यौपाने र रत्न गोलेले उम्मेदवारी दिने भएका छन् । कांग्रेसको विधान अनुसार उपसभापति, सचिव र सहसचिव दुई/दुईजना हुने व्यवस्था रहेको छ । संस्थापन इतरले जिल्ला सदस्यहरुमा तारा राई कार्की, पूर्णप्रसाद पुडासैनी, गोपीराम बल, शिवप्रसाद खनाल, सुशीला न्यौपाने बुढाथोकीलगायत उम्मेदवार बनाउने तय गरेको छ । बाँकी जिल्ला सदस्यका उम्मेदवार छनौटकै क्रममा रहेको जनाइएको छ ।