२०८१ बैशाख १५, शनिबार    

भ्यान दुर्घटनामा एकको मृत्यु, ८ घाइते

२०७९ पौष १७, आईतबार १४:३५ बजे

मकवानपुरको भैंसेमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । आइतबार बिहान त्रिभुवन राजपथअन्तर्गत भीमफेदी-२ भैंसे आँपचौर नजिक हेटौंडाबाट थाहा नगरको दामनतर्फ जाँदै गरेको ना ४ च ९४१ नम्बरको भ्यान अनियन्त्रित भइ नालीमा पुग्दा दुर्घटना भएको थियो ।

दुर्घटनामा बारा विश्रामपुर गाउँपालिमा-३ का २० वर्षीय राहुलकुमार पण्डितको मृत्यु भएको हो । दुर्घटनामा घाइते उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

दुर्घटनामा सोही स्थान बस्ने २७ वर्षीय अजय चौरसिया, भारतको झारखण्ड घर भएका ३६ वर्षीय विजय दास, पर्सा वीरगन्ज महानगरपालिका १७ बस्ने १८ वर्षीय सुमित गुप्ता, पर्सा बौदरमाई-५ बस्ने २६ वर्षीय दिनानाथप्रसाद, बारा विश्रामपुर-३ मुसरहवा बस्ने अन्दाजी १८ वर्षीय शिवजी साह, बारा विश्रामपुर-३ मुसरहवा बस्ने अन्दाजी १८ वर्षीय धिरज चौरसिया र सोही स्थान बस्ने १७ वर्षीय पप्पुकुमार गुप्ता र पर्साको बौदरमाई ५ बस्ने अन्दाजी २८ वर्षीय उमेश कुशवाह रहेको मकवानपुर प्रहरीले जनाएको छ।

घाइते सबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था मध्यम रहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जनाएका छन्। पिकअप चालक भने सम्पर्कमा नरहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाइएको छ।